Wednesday, June 27, 2012

निलो प्लेटमा सरकारी सवारी

सुरेन्द्र पौडेल, काठमाडौं, असार १३- राष्ट्रसंघको नाममा दर्ता निलो प्लेटका दुइटा गाडी एउटै नम्बर राखेर काठमाडौँमा गुडिरहेका छन्। '६६-१-१४०९' नम्बरका ती गाडी एउटा राष्ट्रसंघ र अर्को सिँचाइ विभाग सिँचाइ व्यवस्थापन महाशाखाले प्रयोग गर्छन्।
राष्ट्रसंघले साढे दुई वर्षयता पाएको त्यही नम्बर विभागले भने पाँच वर्षदेखि चलाउँदैछ।
राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको कार्यालय (एफएओ) ले सिँचाइलाई दिएको उक्त गाडी दुरुपयोग गर्न सजिलो भएकाले नम्बर प्लेट परिवर्तन नगरी प्रयोग गरिएको विभाग स्रोतले जनायो। 'सरकारी निकायले नै पाँच वर्षदेखि संयुक्त राष्ट्रसंघकोनम्बर प्लेट दुरुपयोग गर्दै आएको रहेछ,' सिँचाइ विभागस्रोतले नागरिकसँग भन्यो, 'सरकारी निकायभित्र कुन हदमा अनियमितता हुन्छ भन्ने यो एउटा उदाहरण हो।'
निलो नम्बर प्लेट राख्दा जतासुकै प्रवेश सहज हुने, कतै जाँच नहुने, बिदाका दिन पनि चलाउन सकिने, निजी काममा प्रयोग गर्न सहज हुने, पास लिनु नपर्ने, आन्दोलनका बेला पनि राष्ट्रसंघको भन्दै चलाउन सहज हुने देखेपछि विभागका अधिकारीले नम्बर प्लेट नफेरी दुरुपयोग गरिरहेको स्रोतको भनाइ छ।
'राष्ट्रसंघको नम्बर प्लेट दुरुपयोग गर्नु हुँदैन भनेर हामीले बारम्बार विभागका जिम्मेवारव्यक्तिहरुलाई भन्यौं, तर हाम्रो सुनुवाइ भएन,' स्रोतले भन्यो, 'बिदाका दिन पिकनिक जाँदासमेत राष्ट्रसंघकै नम्बर प्लेट भएको गाडी लगिन्छ।'
काठमाडौंस्थित राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको कार्यालयले २०६४ वैशाख मा सिँचाइ विभागलाई हस्तान्तरण गरेको थियो।
गाडी हस्तान्तरण गरेको झन्डै साढे दुई वर्षपछि राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको कार्यालयले 'नेसनल इन्ट्रिगेटेड पेस्ट म्यानेजमेन्ट परियोजना (युटिएफ/एनइपी/०५९/एनइपी) को नाममा प्रयोगमा ल्याएको गाडीमा सोही नम्बर राखेको थियो। राष्ट्रसंघले २०६६ असोज २ गते नयाँ गाडीमा पुरानै नम्बर प्लेट राखी प्रयोगमा ल्याएयता एउटै नम्बर प्लेटका दुइटा गाडी गुडिरहेका छन्।
विभागले प्रयोग गरिरहेको उक्त गाडी तीन वर्षअघि काभ्रे साँगामा दुर्घटनामा परेको थियो। क्षतविक्षत गाडी मर्मत गरी उही नम्बरमा प्रयोग गरिएको विभाग स्रोतले जनायो।
'विभागले पाँच वर्षदेखि अवैधानिक रुपमा राष्ट्रसंघको नम्बर प्लेट प्रयोग गर्दा पनि ट्राफिक प्रहरीले पत्तो पाउन सकेन,' स्रोतले भन्यो।
राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्थाले गाडी किनेको पाँच वर्षसम्म कसैलाई हस्तान्तरण गर्न पाउँदैन। पाँच वर्षपछि मात्र सरकारी निकायलाई मात्र गाडी हस्तान्तरण गर्न पाउने प्रावधान छ। यसरी हस्तान्तरण गर्दा पनि परराष्ट्र मन्त्रालयसँग अनुमति लिनुपर्छ।
परराष्ट्रले अनुमति दिएपछि यातायातले पहिलेको रजिस्ट्रेसन रद्द गरी नयाँ नम्बर प्लेट प्रदान गर्छ।
'कानुनअनुसार राष्ट्रसंघको रजिस्ट्रेसन रद्द गर्ने र नयाँ नम्बर प्लेट दिने कार्य सँगसँगै हुनुपर्छ,' सिँचाइ विभाग स्रोतले भन्यो, 'राष्ट्रसंघको रजिस्ट्रेसन त रद्द भयो तर गाडीमा नयाँ नम्बर प्लेट (सेतो) नराखी पुरानैमा चलाइँदा कानुनको ठाडो उल्लंघन भयो।'
पाँच वर्षदेखि निलो प्लेट दुरुपयोग गरेको थाहा पाएपछि काठमाडौंस्थित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यालयले गत साता सिँचाइ विभागलाई तत्काल नम्बर प्लेट हटाउन पत्राचार गरेको थियो।
'गाडीमा रहेको राष्ट्रसंघको ६६-१-१४०९ नम्बरको निलो प्लेट हटाई सरकारी सेतो नम्बर प्लेट राखिदिए हामी सिँचाइ विभागप्रति धेरै आभारी हुने थियौं,' विभागलाई पठाइएको पत्रको बेहोरा उद्वृत गर्दै स्रोतले भन्यो, 'विभागले उक्त नम्बर प्लेटमा प्रयोग गरिरहेको गाडी हाल राष्ट्रसंघकोहोइन।'

No comments:

Post a Comment