काठमाडौं, असार १३ (नागरिक)- प्रधानमन्त्रीले राजीनामा नै नदिएको अवस्थामा उम्मेदवार तोक्ने बेला नभएको कांग्रेसले प्रतिक्रिया दिएको छ। यसबारे पार्टी र अन्तरपार्टी छलफलसमेत नभएको नेताहरुको भनाइ छ। 'कांग्रेसबाट प्रधानमन्त्री उम्मेदवार तोक्ने भनेर एमालेसँग औपचारिक रुपमा छलफल भएको छैन,' महामन्त्री प्रकाशमान सिंहले नागरिकसँग भने, 'प्रधानमन्त्रीले राजीनामा नै नदिएको अवस्थामा उम्मेदवार तोक्ने समय आयो/आएन भन्ने विषयमा हामी बुझ्दैछौं।'
एमाले नेताहरुले सार्वजनिक कार्यक्रममार्फत कांग्रेसलाई प्रधानमन्त्री उम्मेदवार तोक्न आग्रह गरेका थिए। सिंहले सरकार परिवर्तन भई राष्ट्रिय सहमतिको वातावरण नबन्दै उम्मेदवार तोक्न हुने/नहुनेबारे आउँदो केन्द्रीय समिति बैठकले टुंगो लगाउने जानकारी दिँदै भने, महामन्त्री सिंहले भने, 'समय आएपछि कांग्रेसले उपयुक्त उम्मेदवार प्रस्तुत गर्छ।'
कांग्रेसभित्र सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आंकाक्षा राखेका छन्। पौडेलले यसअघि दुईपटकसम्म आफू अप्ठेरो परिस्थितिमा उम्मेदवार बनेकाले अबको उम्मेदवार पनि आफू नै हुनुपर्ने दाबी गर्दै आएका छन्। कोइराला र देउवाले भने आफूहरुको नाममा राष्ट्रिय सहमति हुने दाबी गरेका छन्।
'उम्मेदवारबारे औपचारिक छलफल भएको छैन, तर पनि अब सहमतिको उम्मेदवार तोक्दा अरु दलले सहमति गर्ने पात्र अघि सार्नुपर्छ,' कोइराला निकट केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले भने, 'प्रधानमन्त्री उम्मेदवारको पात्रबाट पनि सहमतिगर्न सहज हुने भएकाले उम्मेदवार तोक्न दबाब परेको हुन सक्छ।'
सभापति कोइराला पौडेल र देउवालाई उम्मेदवार बनाउँदा सहमति हुन नसक्ने भएमा आफैं अघि सर्ने तयारीमा छन्।
उम्मेदवार तोकेर जाऊँ : एमाले
एमालेले सहमतीय सरकार निर्माणको वातावरण तय गर्न आन्दोलनरत लोकतान्त्रिक शक्तिहरुले प्रधानमन्त्रीको उम्मेदवार तोकेर जानु उचित हुने धारणा राखेका छन्।
'अनिर्णयको अवस्थामा बस्नु हुँदैन भन्ने हाम्रो धारणा हो,' एमाले महासचिव ईश्वर पोखरेलले भने, 'राष्ट्रिय सहमतिको वातावरण बनाउन पनि प्रधानमन्त्रीको उम्मेदवार तोक्न आवश्यक छ, कांग्रेसले तोक्दैन भने लोकतान्त्रिक शक्तिले अन्य विकल्पबारे धारणा बनाउनुपर्छ।'
माओवादीइतर शक्तिबीच सहमतीय सरकार बनाउने धारणाएमालेले अघि सारेको भन्दै उनले ठूलो दलका हैसियतमा उम्मेदवार कांग्रेसबाट हुन सक्ने संकेत गरे।
No comments:
Post a Comment