Friday, March 29, 2013

तनहुँको दमौली तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान

सन्तोष पोखरेल, पोखरा, चैत १६- लागु औषध सेवन गरेको अवस्थामा प्रहरीले
नियन्त्रणमा लिएका युवक अस्पतालबाट भाग्ने क्रममा भिरबाट खसेर मृत्यु
भएको विषयलाई लिएर अहिले तनहुँको दमौलीमा मृतकका आफन्त र प्रहरीबीच ढुंगा
हानाहान भइरहेको छ।
प्रहरी नियन्त्रणमा रहेका पोखरीभञ्ज्याङ-४ का २२ वर्षीय सुजन तामाङ
बिहीबार राति दमौली अस्पतालको परिसरबाट भाग्ने क्रममा भिरबाट खसेर घाइते
भएका थिए। उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका
क्रममा मृत्यु भएको थियो। प्रहरीले तामाङको हत्या गरेको आरोप लगाउँदै
मृतकका आफन्त विरोधमा उत्रेका थिए।
तनहुँस्थित नागरिकन्युज कर्मी समुन्द्र पौडेल का अनुसार प्रर्दशनकारीको
ढुंगा लागेर तीनजना घाइते भएका छन्। घाइतेको नाम खुलेको छैन। घाइतेमध्ये
दुई जनाको दमौलीस्थित रत्नहरि अस्पताल र एकजनालाई थप उपचारका लागि पोखरा
पठाईएको तनहुँका एसपी देवबहादुर बोहराले जानकारी दिए।
दोहोरो झडपमा परी दमौलीमा प्रदर्शनकारीले समाचार संकलन गर्न गएका
पत्रकारहरु नारायण खड्का, सोनी खनिया र सरोज पोखरेललाई पनि कुटपिट गरेका
छन्। उनीहरुको अवस्था सामान्य रहेको छ। पोखरेलको क्यामेरा प्रदर्शनकारीले
लुटेर लगेका छन्। पत्रकारकुटपिट भएको भन्दै सुरक्षाको माग गर्दै
प्रशासनमा गएका छन्। बजारमा जान नसक्ने अवस्था रहेपछि पत्रकारहरु अहिले
प्रशासन परिसरमा बसिरहेका छन्।
बिहान साढे ९ बजेदेखि बन्द रहेको पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन।
राजनीतिक दल, पीडितका परिवार र प्रशासनबीच वार्ता भइरहेपनि सहमति भएको
छैन। प्रदर्शनका कारण बिहानैदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्ग अझै
सञ्चालनमा आउन सकेको छैन।
पोखरा जान र पोखराबाट बाहिरिँदै गरेका सयौं सवारी अहिले रोकिएका छन्।
यात्रुहरु अलपत्र अवस्थामा छन्। प्रदर्शनकारी र प्रहरीबीच ढुंगाहानाहान
जारी छ। बजार पूर्णरुपमा बन्द छ। बजारका केही पसलमा पनि प्रदर्शनकारीले
तोडफोड गरेका छन्। बजार बन्द गराउँदै हिँडेको समूहले पसल तोडफोड गरेका
हुन्। प्रदर्शनकारीले अहिले तनाव गर्ने आफूहरुको समूह नरहेको दाबी गरेका
छन्।

No comments:

Post a Comment