Sunday, October 21, 2012

आज घरघरमा फूलपाती भित्र्याइँदै

५ कार्तिक,काठमाडौ। आज बडा दसैँ अन्तर्गत आज सप्तमी तिथिमा नेपाली
परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । दुर्गाभवानीको प्रतिमा
राखिएको हनुमानढोकास्थित दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा,
केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य
नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । सो फूलपाती गोरखा दरबारबाट
धादिङको जीवनपुर हुँदै काठमाडौँको जमलसम्म ल्याउने गरिन्छ । गुरुज्यूको
पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारी,
आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडी र
सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याएको सो फूलपातीलाई
हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ ।
घटस्थापनाका दिनदेखि नै दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने
फूलपातीका दिनदेखि सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने
भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका
व्यक्तिहरू परिवारसँग बसेर दुर्गाभवानीको पूजा गर्न, आफ्ना मान्यजनबाट
टीका थाप्न र आशीर्वाद लिन आआफ्ना घर फर्किरहेका छन् । गाउँघरमा
फूलपातीदेखि थापिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकलाई अझ बढाउने
गरेका छन् ।
Comments:
Facebook

No comments:

Post a Comment