Friday, October 5, 2012

'असंवैधानिक सरकार सत्ता छोड, राष्ट्रिय सहमतिको ढोका खोल'

१९ असोज, काठमाडौ । वर्तमान सरकारको अन्त्य, राष्ट्रिय स्वाधीनतालगायतका
मुद्दा उठाउँदै नेकपा एमालेको मोर्चा सङ्गठनहरूको आयोजनामा शुक्रबार
राजधानीमा जनप्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ।
'असंवैधानिक सरकार सत्ता छोड, राष्ट्रिय सहमतिको ढोका खोल' भन्ने मुख्य
नाराका साथ रत्नपार्कबाट सुरु भएको जुलुस केहीबेर सोही स्थलमा भेला भई
सभामा परिणत भएको थियो। सभामा एमालेका अध्यक्ष झलनाथ खनाललगायतका
नेताहरूले सम्बोधन गर्दै वर्तमान सरकार नढलेसम्म एमालेले सडक नछाड्ने
चेतावनी दिएका छन्।
एमाले जनताको माझमा अहिले पनि पहिलो पार्टी भएको दाबी गर्दै अध्यक्ष
खनालले भने, 'एमाओवादी नेतृत्वको सर्वसत्तावादी र एकाधिकारवादी वर्तमान
सरकारको अन्धकार समाप्त भई नयाँ सरकार गठन नभएसम्म एमाले आन्दोलनमै
रहनेछ।'
एमालेबाट उपाध्यक्ष अशोक राईलगायतका नेताहरू बाहिरिएको सन्दर्भमा उनले
एमालेलाई बाँसको सङ्ज्ञा दिँदै यसबाट पार्टीलाई कुनै असर नगर्ने, बरु
पार्टी झन् बलियो हुने बताए। एमालेका मोर्चा सङ्गठन प्रमुख शङ्कर
पोखरेलले आजको प्रदर्शनबाट वर्तमान सरकारको सर्वसत्तावादविरुद्ध सशक्त
जनदबाब सिर्जना भएको भन्दै एमाओवादीले दलहरूको वार्तालाई सत्ता
लम्ब्याउने नाटकका रुपमा दुरुपयोग गरेको धारणा राखे।
अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले वर्तमान सरकारले जनतालाई महङ्गी,
कुशासन, भ्रष्टाचार दिएको भन्दै अदालतबाट दोषी ठहरिएकालाई पनि माफी दिएर
विधिको शासनको उपेक्षा गरेको आरोप लगाए।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जितु गौतम दर्जीले एमालेको
नेतृत्वमा आम दलित समुदायलाई आन्दोलित गर्न आफ्नो सङ्गठन तयार रहेको
बताए। नेपाललोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका उपाध्यक्षशेरबहादुर
तामाङ्ले एमालेमै रहेर अवसरहरूबाट अघाएछि पार्टीलाई गाली गर्दै
बाहिरिनेहरूबाट कुनै प्रभाव नपर्ने बताए।
यसैगरी, नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष मोहम्मद आलमले पनि
एमालेको अगुवाइमा हुने आन्दोलनमा मुस्लिम समुदाय एकतावद्ध भई आन्दोलन
गर्न तयार रहेको बताए। नेताहरूले सम्बोधन गरेपछि जुलुसले रत्नपार्कबाट
बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै सहर परिक्रमा गरेको थियो। रासस

No comments:

Post a Comment