Wednesday, October 24, 2012

आज विजयादशमी, टिकाको उत्तम साईत बिहान ११ बजेर २९ मिनेटमा

८ कात्तिक काठमाडौँ । बडादशैको दशौ दिन आज आफ्ना मान्यजनबाट टीका तथा
जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।
विजयादशमीका दिन आज बिहान १० बजेर ३५ मिनेटमा देवी विसर्जन र बिहान ११
बजेर २९ मिनेटमा टीका लगाउनका लागि शुभसाइत रहेको नेपाल पञ्चाङ्ग
निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराईले बताए । तर देवी विसर्जनपछि
दिनभरि नै टिकाको लागि शुभसाइत रहेको नेपाल पञ्चाङग निर्णायक समितिले
जनाएको छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा
समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी
शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा विजयादशमी मनाइन्छ । घटस्थापनादेखि
नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको
जमरासहितकोटीका आज लगाउने प्रचलन छ ।
पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा
विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट
नवदुर्गाभवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित
तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी
उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्तहोस् भनी आशीर्वाद
दिने चलन छ ।

No comments:

Post a Comment