Friday, October 19, 2012

खाली हुँदैछ राजधानी

काठमाडौं, कार्तिक ३ - राजधानीको मुख्य बजार दसैं किनमेलले भीडभाड भएको छ
। उपत्यका बाहिर जाने सवारीमा यात्रुको चाप छ । दिनभर किनमेल गर्दै
साँझकोसवारीमा उपत्यका छाड्नेहरू बढ्दै गएका छन् । राजधानी विस्तारै
सुनसान बन्दै गएको छ ।
राजधानीको नयाँसडक, सुन्धारा, पुतलीसडक, बानेश्वर, पाटनलगायत बजारमा
देखिने उपभोक्ताको हात खाली छैन । भृृकुटीमण्डप, खसीबजार भेडा, बोका र
च्याङ्ग्राले भरिएको छ । गाउँ जाने पनि राजधानीदेखि खसी/बोका खरिद
गरिरहेका छन् । राजधानीसहित मोफसलका सहरहरूमा ठूला व्यापारिक कम्प्लेक्स
खुले पनि सामान्य र सस्तो सामान किनबेच हुने क्षेत्रका उपभोक्ताको चहलपहल
घटेको छैन ।
किनमेलमा भेटिएकाहरू हतारमा देखिन्छन् । फेसनेबल कपडा र पहिरनका
सामानसँगै बजारमा मनोरञ्जनका सामानको खपत पनि बढेको छ । आफन्त र
नातेदारलाई उपहार दिन सजिलो र सहज हुने भएकाले मोबाइलको खपत ह्वात्तै
बढेको छ । न्युरोड, सुन्धारालगायत आसपासका व्यवसायीका अनुसार दसंै
लागेपछि नयाँ डिजाइनको सामानको खोजीमा सबै छन् । 'सबैले नयाँ डिजाइन
देखाउनुस् भन्छन्,' भोटाहिटीका व्यापारी सुन्दर खड्काले भने,
'किन्नेभन्दा हेर्ने बढी छन् ।' मध्यमवर्गको रोजाइमा पर्ने पसलहरूमा पनि
घुइँचो छ । 'अझै दुई दिन यत्तिकै भीड होला जस्तो छ,' उनले भने, 'अनि
विस्तारै चाप घट्छ ।'
शुक्रबारसम्म बाहिरी जिल्ला जाने सर्वसाधारणले किनमेल गरिसक्ने
व्यापारीहरूको अनुमान छ । आइतबार फूलपातीदेखि दसैं बिदा सुरु हुन्छ ।
समाजशास्त्रीहरू भने दसैंमा किनमेलको शैली पनि बदलिंदै गएको बताउँछन् ।
रेमिटेन्सले धानेको अर्थतन्त्र, विश्वव्यापीकरण लगायतका कारण समाज
बदलिएको र किनमेलमा समेत त्यसको प्रभाव परेको उनीहरूको धारणा छ ।
पढाइ, जागिर, व्यापार वा अरू कुनै त्यस्तो कारणले वर्षभरि यहाँ बसेर
यतिखेर उनीहरू आफ्नै गाउँमा दुःख/सुख सुनाउन गइरहेका छन् । काठमाडौंमा
आएर जति नै प्रगति गरे पनि बाहिरबाट आएकाहरू दसैंमा भने आफ्नै थातथलोमा
गएर रम्न रुचाउँछन् । त्यसैले घटस्थापना लागेदेखि नै काठमाडौं
छाड्नेहरूको लर्कोछ । उडेर र गुडेर जानेहरूको ताँती बसपार्क र विमानस्थल
दुवैतिर ठूलो छ । हवाई र सवारी साधनको टिकट पाउन मुस्किल त छँदैछ । सवारी
साधनमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले
दसैंमा मात्र करिब २० लाख मानिस बाहिरिने गरेको बताए । 'राजधानीवासीका
साथै दसैंका लागि विदेशबाट आउनेको भीड हुन्छ,' उनले भने । उनका अनुसार
यात्रुले औसतमा ७ सय रुपैयाँ टिकटमा खर्च गर्छन् । यस आधारमा टिकटका लागि
मात्र करिब ३ अर्ब रुपैयाँको कारोबार हुन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख गणेशराजराईका अनुसार थानकोट,
जगातीलगायत अन्य नाकाबाट १ हजार ८ सय ८६ सवारी बाहिरिएका छन् । यसमा सरदर
३० राख्दा बुधबारमात्रै करिब ५७ हजार सर्वसाधारण राजधानीबाट बाहिरिएका
छन् । उपत्यका नजिकका रुटमा चल्ने माइक्रोबसमा समेत यात्रुको भीड छ ।
हवाई यात्राको टिकटसमेत पाउन मुस्किल रहेको व्यवसायीले बताएका छन् ।

No comments:

Post a Comment