Sunday, September 2, 2012

म्यानपावरका अफिसमै छापा मार्न थालियो

१७ भदौ, काठमाण्डौ । बैदेशिक रोजगारीका भइरहेका ठगी नियन्त्रणका लागि सरकारले हालै गठन गरेको टास्कफोर्सप्रति म्यानपावर ब्यबसायी आक्रोशित भएका छन् । गृहमन्त्रालय सहसचिव शंकर कोइरालाको नेतृत्वमा रहेको टास्कफोर्सका कारण रोजगारीका लागि बिदेशिने कामदारले दुःख पाउन थालेको म्यानपावर ब्यबसायीको दावी छ।
टास्कफोर्सका कारण सेटिङ मिलाएर कामदार पठाउँदै आएका अध्यागमन कर्मचारीहरुको धन्दा बन्द भएपछि उनीहरुले कामदारलाई दुःख दिन थालेको बैदेशिक रोजगार ब्यबसायी संघका महासचिव कुमुद खनालले बताउनुभयो । ‘ठूलो समूहमा मलेसिया र खाडी मुलुक जान लागेका कामदारलाई अध्यागमनमा दुःख दिने र फर्काउने काम भइरहेको छ’ खनालले भन्नुभयो- बैदेशिक रोजगार बिभागले अन्तिम स्वीकृति दिएर एउटै कागजमा गइरहेका कसैलाई पठाउने र कसैलाई फर्काउने भइरहेको छ ।’
त्यसरी पठाइएका कामदारमा कुनै पनि समस्या नदेखिएको र उनीहरुलाई फेरि दुई तीन दिनपछि जान दिइएको खनालले बताउनुभयो । ’टास्कफोर्सका कारण सेटिङ मिलाएर पठाउने धन्दा रोकिएको हो’- खनालले भन्नुभयो-’कमाउने धन्दा बन्द भएपछि अध्यागमन कर्मचारीले कामदारमाथि रिस पोख्न थालेकाछन, निर्दोष कामदार धमाधम फर्किनुपरेको छ ।’ अध्यागमनसम्म म्यानपावर प्रतिनिधि जान नपाउने र कामदारले सवै कुरा बताउन नसक्ने हुँदा अध्यागमन कर्मचारीले निहुँ खोजेर फर्काउने गरेको म्यानपावर ब्यबसायीको गुनासो छ । हालै मरिसस, कतार लगायतका मुलुक जान लागेका दर्जनौं कामदार फर्काइएको र एक दुई दिन पछि पुरानै कागजातमा जान दिइएको म्यानपावर ब्यबसायीले बताएका छन् ।
टास्कफोर्सले म्यानपावर कम्पनीको कार्यालयमै छापा मार्न थालेपछि ब्यबसायीको आक्रोश अझ बढेको छ । हालैमात्र बैदेशिक रोजगार ब्यबसायी संघका पूर्व उपाध्यक्ष हंसराज वाग्लेको कार्यालयमा टास्क फोर्सले छापा मारेपछि ब्यबसायीवीच हल्लिखल्ली नै मच्चिएको छ । तर अध्यागमन बिभागका महानिर्देशक सुरेश अधिकारी भने पासपोर्टमा शंका लागेका कामदारलाई मात्र फर्काउने गरिएको बताउनुहुन्छ । कामदारलाई दुःख दिने मनसायलेभन्दा पनि नक्कली कागजात भएको आशंकामा फर्काइएको अधिकारीले बताउनुभयो ।
सरकारले हालै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय समिति र गृह मन्त्रालयका सहसचिव कोइरालाको नेतृत्वमा टास्क फोर्स गठन गरेको थियो । समितिले अनियमिततामा संलग्न कर्मचारीलाई तत्कालै कारवाही गर्ने म्याण्डेट पाएको भएपनि हालसम्म सेटिङ मिलाउनमा संलग्न कुनै सरकारीकर्मचारीलाई कारवाही नगरेको ब्यबसायीको आरोप छ ।

No comments:

Post a Comment