Friday, September 14, 2012

एउटै गाउँका तीनको मृत्यु, स्थानीयवासी भयभित

जनकपुर, भाद्र २९ - पूर्वी धनुषाको बाला बाखर ८ मुसहरी टोलमा फैलिएको अज्ञात रोगबाट चारको मृत्यु भएको घटना सेलाउन नपाउँदै दक्षिणी सीमावर्ती गाउँ नगराइनमा अज्ञात रोगबाट तीन जनाको मृत्यु भएको छ । एकै गाउँका तीन जनाको मृत्यु भएपछि स्थानीयवासी भयभित बनेका छन् । कोही देउता गुहार्न थालेका छन भने कोही स्वास्थ्य संस्था धाउन थालेका छन् ।
'खेतमा कुनै किराले टोक्यो वा घाँस पातमा खुट्टा अल्झियो भने पनि सबै डराउन थालेका छन् । सर्पले टेाकेको भन्दै धामी झाँक्री गुहार्छन् कि अस्पताल भर्ना हुन्छन् । गाउँभरि मास हिस्टेरियाको अवस्था छ ।' शुक्रबार वरिष्ट भिजिशियन डा. गौराङ्ग मिश्र, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख घनश्याम नायक, अधिकृत रामगुलाम कर्णको टोलीसँगै नगराइन गएका यस क्षेत्रका निवर्तमान सभासद रामसरोज यादवले भने ।
झण्डै एक महिना पूर्व नगराइन गाविस हासपट्टीका भरोसी मण्डलकी १२ वर्षीया छोरीको मृत्यु भएको थियो । गत सोमबार नगराइनकी २५ वर्षीया रीना मण्डलको तथा मंगलबार २६ वर्षीया रिंकु मण्डलको मृत्यु भएको थियो । निमित्त जनस्वास्थ्य अधिकृत घनश्याम नायकले दिएको जानकारी अनुसार-तीन दिन यता नगराइन गाउँका १३ जनालाई सर्पले टोकेको शंकाको आधारमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गराई सकिएको छ । भर्ना गराइएका मध्ये एउटैमा पनि विष देखिएको थिएन र सबै सकुशल आफ्नो घर फर्किसकेका छन् ।
अज्ञात रोग फैलिएको खबर सुनेर डा. गौराङ्ग मिश्र नेतृत्वको टोली शुक्रबार नगराइन पुग्दा आधा दर्जनभन्दा बढी स्थानीयवासीले आफूलाई सर्पले टोकेको जानकारी गराएका थिए । तीमध्ये केहीको उपचार पनि गरिएको थियो । आधा दर्जनभन्दा बढी व्यक्ति हासपट्टीस्थित ब्रह्म स्थान (पूजा स्थल)मा धामी-झाक्रीसँग उपचार गराउँदै थिए ।
डा.गौराङ्ग मिश्रले यस अघि मृत्यु भएका तीन जनालाई सर्पले डसेर मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । अन्य व्यक्तिहरूमा भने मानसिक भय पसेको उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले प्रभावित गाउँमा विषादि छर्किने बताए । यसका अतिरिक्त स्थानीय स्वास्थ्यकर्मीलाई पनि गाउँमै बस्न निर्देश दिएको अधिकृत नायकले जानकारी दिए ।
यता अज्ञात रोगबाट चार जनाको मृत्यु भएको पूर्वी धनुषाको बाला बाखरको अवस्था नियन्त्रणमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत २४ घन्टा भित्र उपचारका लागि ४२ जनालाई ल्याई पनि उपचारपछि ३६ जना फर्किइसकेको र ६ जनालाई अहिले पनि उपचार भइरहेको छ । शुक्रबार मलेरिया, इन्सेफलाइटिस आदि जाँचका लागि रगतको नमुना संकलन गर्न चिकित्सकहरूको एक टोली बाला बाखर गएको निमित्त जनस्वास्थ्य प्रमुख नायकले जानकारी दिए ।

No comments:

Post a Comment