बिरामी भएर अस्पताल भर्ना भएँ।
कसैले यस्तो स्ट्याटस फेसबुकमा लेखेको थियो। मुन्तिर पाँचछ जनाले लाइक ठोकेका थिए। यसको अर्थ के हो? उनी बिरामी भएको ती मान्छेहरूलाई मन परेको हो कि? ती मान्छे उसका साथी हुन् कि दुश्मन? प्रश्न उठ्नु स्वभाविक हो। कुनै पनि साथीलाई आफ्नो साथी बिरामी भएर अस्पतालमा भर्ना भएको मन त नपर्नुपर्ने हो। त्यही अनुसार लाइक पनि नगर्नुपर्नेहो।
बस त्रिशुलीमा खस्यो, यति जनाको मृत्यु।
नागरिकन्युजको फेसबुकमा पेजमा राखिएको समाचारको लिंक। त्यसको मुन्तिर पनि १५ जनाको लाइक। उनीहरूमा मानव हुन् कि दानव? बस दुर्घटना भएको जानकारी पनि कसैलाई मन पर्न सक्छ?
फेसबुकको लाइकबारे यस्ता प्रश्न सामान्यतया सधैं उठ्ने गर्छ। फेसबुकमा लाइकबाहेक डिसलाइक बटन नभएकाले पनि मान्छेले स्ट्याटस पढेँ भन्ने देखाउन लाइक गरेको भन्ने तर्क गर्नेहरू पनि हुन्छन्। तर, कोही बिरामी भएको वा कसैको मृत्यु भएको जानकारी कसरी लाइक हुन सक्छ?
फेसबुक लाइकबारे हामी यस्तो बहस गर्दैगर्दा अमेरिकामा भने एउटा अनौठो घटना भएको छ। त्यहाँ एक जनाले लाइक गरेकै कारण जागिर गुमाउनुपरेको छ। मुद्दा अदालत पुगेको छ र अब फेसबुकको लाइक कुनै व्यक्तिको विचार तथा अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत पर्ने कि नपर्ने भन्ने नयाँ बहस पनि सुरु भएको छ। यो मुद्दालाई फेसबुक कम्पनीले समेत सघाइरहेको छ। फेसबुकले लाइकलाई कुनै पनि प्रयोगकर्ताको विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिबिम्बित गर्ने तर्क गरेको छ। मुद्दा जिल्ला अदालतबाट संघीय अदालत पुगेकोछ र छिट्टै सर्वोच्च अदालतसमेत पुग्ने भएको छ।
कसरी गयो जागिर?
अमेरिकाको भर्जिनियास्थित ह्याम्पटनका शेरिफ (काउन्टीको जिम्मा बोकेको कानुनी अधिकारी)ले सन् २००९ मा पाँच जनालाई जागिरबाट बर्खास्त गरिदिए। तीमध्ये एकथिए ड्यानियल रे कार्टर जुनियर। पाँचै जनालाई सेरिफले आफ्नो पुनः चुनाव अभियानलाई नसघाएको आरोप लगाएका थिए। तीमध्ये ड्यानियलले सेरिफ बी जे रबर्ट्सका राजनीतिक प्रतिद्वन्द्वीको फेसबुक अभियान पेज लाइक गरेका थिए। पुनः निर्वाचित भएपछि उनले आफ्नो विरोधीको पेज लाइक गर्नेको जागिर खाइदिए। त्यहीलाइक नै उनको जागिर जाने कारण बन्यो।
ड्यानियल जिल्ला अदालतमा मुद्दा ठोक्न पुगे। तर, त्यहाँको जिल्ला न्यायाधीशले अमेरिकी संविधानको पहिलो संशोधनले प्रत्याभूत गरेका वाक् स्वतन्त्रताको प्रावधानले उनको फेसबुक लाइकलाई रक्षा नगर्ने फैसला सुनाए।
अब यो मुद्दा संघीय अदालत पुगेको छ। यससँगै नयाँ बहस चर्किएको छ। फेसबुकजस्ता सामाजिक सञ्जालका साइटमा कतिसम्मको अभिव्यक्ति स्वतन्त्रता दिने? कार्यालयका हाकिमले मन नपराउने कुनै कुरा लाइक गर्दैमा कसैको जागिर जाने स्थिति आउनु ठीक हो कि होइन?
अमेरिकाको युपिआईका कानुनी संवाददाताका अनुसार निजी क्षेत्रमा काम गर्नेहरूको जागिर हाकिमलाई मन नपरेको कुरा लाइक गर्दा पनि जानसक्छ। त्यस्तो अवस्थामा अमेरिकी संविधानको अभिव्यक्ति स्वतन्त्रता लागू हुँदैन। सामान्यतया युनियनका केही सीमित गतिविधिसँग सम्बन्धित अवस्थामा बाहेक निजी कम्पनीका कर्मचारीलाई अभिव्यक्ति स्वतन्त्रताको प्रावधानले रक्षा गर्दैन। अहिलेको मुद्दा भने सरकारी कर्मचारीको हो।
नेपालमा पनि सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसमा कतिसम्मको स्वतन्त्रता हुने भन्ने प्रश्न उठिरहेको छ। कुनै सरकारी कर्मचारी र वा निजी कम्पनीका कर्मचारीले आफ्ना हाकिमविरुद्ध वा हाकिमको नीतिविरुद्ध फेसबुकमा लेख्न पाउने कि नपाउने? त्यस्तो अवस्थामा हाकिमले कारबाही गरे भने त्यसको वैधता कस्तो हुने?
यस्ता विषयमा छलफल पर्याप्त नभए पनि सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यस्ता स्थितिसँग सामना गर्नुपर्ने अवस्था आइसकेको छ। उदाहरणका लागि भर्खरै एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको मसाल जुलुसमा अध्यक्ष महेश बस्नेतले प्रहरीलाई मसालले हान्दै गरेको फोटो आफ्नो फेसबुकमा राखी डिएसपी दीपशमशेर राणाले आक्रामक अभिव्यक्ति स्ट्याटसमा लेखेका थिए। पछि महेश बस्नेतले पनि त्यसमा कडा प्रतिक्रिया दिए। अन्ततः आइतवार उनलाई नेपाल प्रहरीलेट्राफिक महानिर्देशनालयमा सरुवा गर्यो।
सामाजिक सञ्जालको प्रयोग, उपयोग र दुरुपयोगका अवस्थालाई ध्यानमा राख्दै सरकारी कार्यालय र निजी कम्पनीले पनि छिट्टै नै सामाजिक सञ्जालको प्रयोगबारे निर्देशिका जारी नगरे यस्ता समस्या अझै बढ्न सक्छन्। सामाजिक सञ्जालमा कतिसम्म लेख्न मिल्ने र के के गर्न नमिल्नेबारे गाइडलाइन बनाई लागू गरे यस्ता समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ।
No comments:
Post a Comment