Friday, August 24, 2012

नेपालीलाई कोरियामा निर्माण क्षेत्रमा काम दिन मन्त्रीको माग

८ भदौ, सउल । भौतिक निर्माण तथा यातायात मन्त्री हृदेश त्रिपाठीले रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा काम गर्ने नेपाली श्रमिकलाई रेल र सडक निर्माणजस्ता क्षेत्रमा अबसर दिन माग गर्नु भएको छ ।कोरियाका भूमि, यातायत तथा समुद्रीमन्त्री क्वन दो योपको निमन्त्रणमा कोरियाको भ्रमणमा रहनु भएका मन्त्री त्रिपाठीले नेपालका लागि कोरियाको सहयोग महत्वपूर्ण रहने बताउँदै भौतिक संरचना, रेल्वे र टनेल निर्माणमा नेपाली प्राविधिकहरुको आवश्यकता हुने हुँदा ईपीएसमार्फत कोरिया आएका नेपालीलाई यससँग सम्बन्धित क्षेत्रमा काम दिलाउन आग्रह गर्नु भएको हो । मन्त्री त्रिपाठीले भन्नुभयो,’ हामीले आफै प्राविधिक जनशक्ति तयार गर्न सकेको खण्डमा निर्माणमा सहजता हुने हुँदा मैले कोरिया सरकारलाई यस्तो अनुरोध गरेको छु ।’
कोरियाली मन्त्री योपले नेपालसँग आपसी समझदारीका आधारमा कार्यपत्र तयार गरी दीर्घकालीन रूपमै सहकार्य गर्न चाहेको बताउनुभयो । योपले रेल्वे क्षेत्रमा नेपालीलाई तालिमसमेत दिन सकिने बताउनु भयो । नेपालको भौतिक संरचना तथा रेल्वे विकासमा केन्दि्रत भएको दुई पक्षिय वार्तामा मन्त्री योपले भन्नुभयो,’नेपालको भौतिक संरचना तथा रेल्वे विकासका लागि कोरियाली सरकार सहयोग गर्न तयार छ ।’नेपालमा पूर्वाधार र विकासका लागि कोरियाली लगानीकर्तालाई प्रस्ताव गरेको र सकारात्मक उत्तर पाएको मन्त्री त्रिपाठीको भनाई थियो ।
वार्तामा नेपालका तर्फबाट मन्त्री त्रिपाठीसहित राजदूत कमानसिंह लामा, , भौतिक योजना सचिव तुलसी सिटौला, निर्माण महाशाखा प्रमुख हरिओम श्रीवास्तव, रेल्वे विभागका महानिर्देशक रामकुमार लम्साल, कानुन शाखा र योजना शाखाका उपसचिवद्वय राजेन्द्र नेपाल र राजेश उप्रेती सहभागी थिए भने कोरियाका तर्फबाट रेल परियोजनाका निर्देशक ओछे ओक, उपनिर्देशक गी सेङ कोङ तथा इन्जिनियर किम यङ जुन सहभागी थिए । एकसाताको कोरिया भ्रमण पुरा गरी त्रिपाठी नेतृत्वको टोली आज नेपाल र्फकने कार्यक्रम छ ।

No comments:

Post a Comment