Thursday, July 19, 2012

बाँदरको फौजलाई पालुङमा मोज

४ साउन,हेटौंडा । तीन–चार सयको फौज बाँधेर आउने बाँदरले अन्नबली नष्ट गर्दा पालुङबासी चिन्तित छन् । हुलका हुल बाँदरले बारीमा मात्रै नभई घरमै पसेर चामलका बोरा, मकैका कुन्यू खोतल्न थालेपछि उनीहरुमा चिन्ता थपिएको हो ।
‘पहिले त थोरै आउथे, अहिले त धपाउनै डर लाग्ने गरी आउँछन्’, पालुङ–२ का उत्तम पौडेलले भने, ‘एक पटक धपायो, दुई दिनमै फेरि फर्कन्छन् ।’ बाँदरले बारीमा रोपिएका काउली, मूला, बन्दाजस्ता तरकारी खाइदिने मात्रै होइन, बोटै उखेलिदिने गरेको पौडेलले गुनासो गरे । बारीका मकै पनि बाँदरले तहसनहस गरिदिएको स्थानीयबासीको गुनासो छ । त्यसक्षेत्रको टहाखेल, अंगारे, ओखरगाँउ, खानीगाउँजस्ता क्षेत्रमा बाँदरले दुख दिइरहेको छ । गाउँलेले बाँदरको हुलमा ढुंगाले हान्दा केही दिनका लागि भागेपनि फेरि फर्केर आइहाल्ने गरेका छन् ।
पहिला सामान्य हाहाहुर्र गर्दा तर्सिएर भाग्ने बाँदर फौज बनाएर आएपछि लौरो लिएर धपाउँदा पनि भाग्न अटेर गरेको स्थानीयको भनाइ छ । बाँदरकै कारण हेटौंडा–१०, भुटनदेवी टोलबासी पनि चिन्तित छन् । बनबिज्ञान अध्ययन संस्थानको बनका बाँदरले उनीहरुको घरमै आएर उपद्रव मच्चाउँदा समस्या समाधानका लागि उनीहरुले प्रशासन गुहारि रहेका छन् ।
Share

No comments:

Post a Comment