काठमाडौं, साउन १२ – नविल ओभरसिज काठमाडौं मार्फत साउदी अरब पुगेर अलपत्र परेका ५९ जना नेपाली कामदार मध्य ६ जनाको अवस्था गम्भीर बनेको छ । खाना नपाएर बिरामी परेका काभ्रेका पूर्ण तामाङ, सुनसरीका यज्ञ कार्की, टिका रिजाल र सन्तोष राई, धादिङका कृष्ण तामाङ र पर्वतका निरज घिमिरेको अवस्था गम्भीर रहेको अलपत्र परेका पाल्पाका शंकर पाण्डेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
‘कम्पनीले तीन महिनादेखि तलब दिएको छैन’, पाण्डेले भन्नुभयो, ‘उहाँहरु पानी समेत खान नसक्ने अवस्थामा हुनुहुन्छ ।’ बिहीबार बेलुकीदेखि ट्वाईलेटको पानी उमालेर खान बाध्य भएको पाण्डेले गुनासो गर्नु भयो । साउदीमा रहेको नेपाली दुतावासका प्रतिनिधि चण्डेश्वर आचार्यले अलपत्र परेका कामदारको अवस्था बारेमा बिहीबार राति बुझ्नु भएको छ । आफूहरुले भन्दा पनि कामदार पठाउने काठमाडौंको नविल ओभरसिजले नेपाल फिर्ताका लागि पहल गर्नुपर्ने आचार्यको भनाई छ ।
नविल ओभरसिजकी प्रमुख राधिका कटुवालले भने आफूहरुले खाना खानाका लागि तीन जनालाई एक एक सय रियाल दिएको र अवस्था बुझ्नका लागि साउदी जाने तयारी भएको बताउनु भयो ।
तीन महिना अघि अरेबिया मेन्टिनेन्स कम्पनीमा कामका लागि गएका ५९ जना अलपत्र परेका हुन ।
No comments:
Post a Comment