विनोद ढकाल- धेरै पैसा कमाउने सपना बोकेर पाँच महिनाअघि भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेकी अनिता चौधरी अहिले आफूलाई विदेश पठाउने दलालको नाम पनि राम्रोसँग भन्न सक्तिनन्। दूतावासको शरणमा लामो समय बसेपछि गत बिहीवार उनी नेपाल आइपुगेकी छिन्। पैसा कमाउने सपना बुनेर साउदी पुगेकी उनी मानसिक समस्या बोकेर फर्किएकी छिन्। पीडित चौधरीलाई साउदीस्थित एनआरएनहरूको सहयोगमा दूतावाससम्म सम्पर्क गराएर नेपाल फर्काइयो। नवलपरासीको धर्कैया-७ घर भएकी ३४ वर्षीया चौधरीलाई रुपन्देही, बतनियाँका एक जना डाक्टर चौधरीले भारतीय बाटो हुँदै साउदी अरब पठाएका थिए। तर, ती डाक्टर चौधरीको नाम के हो, अनितालाई थाहा छैन।
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढिरहेको छ। खाडी मुलुकका लागि सरकारले रोजगारी खुला गरेर वैधानिक रूपमा पठाए पनि कम लगानीमा गएर धेरै पैसा कमाउने महत्वाकांक्षाका कारण अहिले महिलाहरू साउदी अरबमा समस्यामा परिरहेका छन्।
अनिताजस्तै समस्यामा परेर उनीसँगै एकै दिन नेपाल फर्किएकी छिन्, अस्मिता सार्की। साउदी अरबको रियादमा घरेलु कामदारका रूपमा एक महिनाअघि पुगेकी उदयपुर, गाईघाट-८ की २७ वर्षीय अस्मिता काम गर्ने ठाउँमा शारीरिक तथा मानसिक यातना सहन नसकेपछि दूतावासको शरणमा पुगेकी थिइन्। उनी पनि भारतको दिल्ली र मुम्बई हुँदै रियाद पुगेकी थिइन्। नेपालगञ्जका एजेन्ट अशोक मगर र सुनसरी, दुहबीका रूपक राईमार्फत उनी साउदी अरब पुगेकी थिइन्। 'खान, बस्न नदिने र शारीरिक यातना दिनेजस्ता काम गर्न थालेपछि मैले उद्धारका लागि यहाँका नेपालीसँग आग्रह गरेकी हुँ,' अस्मिताले दूतावासमा दिएको बयानमा उल्लेख छ,'पैसा कमाउने सपना साँचेर आएकी, यहाँ बस्नसक्ने अवस्था नरहेपछि दूतावासको शरणमा आइपुगेकी छु।'
महिला कामदार विदेशिने संख्या हरेक वर्ष दोब्बर भइरहेको आधिकारिक तथ्यांक वैदेशिक रोजगार विभागसँग छ। विभागमा श्रम स्वीकृति नलिई भारतीय बाटो हुँदै खाडीलगायत मुलुकमा पुग्नेको संख्या पनि उत्तिकै छ। गाउँ-गाउँमा छरिएका दलालहरूको प्रलोभनमा परेर विदेशमा श्रम गर्न गएकाहरूको बिचल्ली भएको छ।
चार वर्षअघि साउदी अरबमा रोजगारीको सिलसिलामा पुगेकी मोरङ, उर्लाबारी-४ की चन्द्रकला भण्डारी पनि नेपाल फर्किएकी छिन्। चार वर्षसम्म काम गर्दा पनि एक पैसा तलब नपाएको पीडा सुनाउँदै उनले न्यायका लागि अपिल गरेकी थिइन्। तलब नलिई स्वदेश नफर्कने उनको निर्णयविरुद्ध उनका घरमालिकले क्षतिपूर्ति दाबी गरेपछि उनी झन् समस्यामा परेकी थिइन्। साउदीको जेद्दाहस्थित एक घरमा कार्यतर ४२ वर्षीया भण्डारीले दूतावासमा पीडा सुनाउँदै उद्धार र सहयोगका लागि याचना गरेकी थिइन्। दूतावासले उनलाई सहारा दिएर नेपाल फर्काउनुको विकल्प थिएन। दूतावासले उनलाई तलब दिलाउने प्रयत्न पनि गरेको थियो, तर सफल भएन। भण्डारीले नेपालमा परिवारसँग फोनमा कुरा गरेपछिबिनातलब भए पनि नेपाल पठाउन परिवारजनबाट आग्रह भएको थियो र उनलाई पनि चौधरी र सार्कीको साथमा एउटै जहाजमा नेपाल पठाइएको थियो। र, त्यस्तै पीडामा परेकी सीतामाया तामाङलाई पनि दूतावासले नेपाल पठाएको थियो। तीन वर्षअघि सुनौली हुँदै नयाँ दिल्लीको बाटोबाट साउदी अरब पुगेकी थिइन्। पाल्पाका विष्णु थापा र बुटवलकी हरिमाया सिञ्जाली नामका एजेन्टमार्फत् उनी साउदी पुगेकीथिइन्। तीन वर्षमा विभिन्न तीन जना साउदी साहुहरूको घरमा उनले काम गरेकी थिइन्। चितवनको भण्डारा-९ की तामाङले भने तलब नपाउने पीडा खेपिनन्, तर अन्य मानसिक तनाव उनले पनि झेल्नुपरेको थियो।
दूतावासको शरणमा पुगेका पीडित चार महिलालाई एनआरएन, साउदी अरबले महिला उद्दार कोटाबाट हवाई टिकट उपलब्ध गराउँदै स्वदेश फिर्तीमा सघाएको छ। यी चार महिलाको हवाई टिकट खरिद गर्न जनही ८१० का दरले कुल तीन हजार दुई सय ४० रियाल खर्च भएको छ। यसरी पीडामा परी दूतावासको शरणमा आएका २२ जनालाई उद्धार गरी एनआरएनले नेपाल पठाइसकेको छ। यद्यपि, यस्ता समस्या साउदीमा अझै पनि कायम रहेका छन्। 'धेरै नेपाली महिला सम्पर्कमा आउन सकेका छैनन्, दूतावासको सम्पर्कमा आएकालाई उद्धार गरिरहेका छौँ,' एनआरएन साउदीकी महिला प्रतिनिधि कुमारी सुनारी मगर इमेलमार्फत भन्छिन्, 'साउदीमा धेरै नेपाली महिला घरेलु कामदारका रूपमा काम गरिरहेका छन्। उनीहरू बाध्यता र डरले गर्दा पनि सम्पर्कमा आउन नसकेको हुने अनुमान गर्न सकिन्छ।'
नेपाली दूतावास रियादले महिला उद्धारमा विगत केही महिनामा अवलम्बन गरेको 'दलाल केन्द्रित' नीतिअनुरूप लामो समयसम्म महिला 'बेच्ने' दलालहरूबाटै धेरैको हवाई टिकट जुटाउँदै आएको थियो। कतिको रोजगारदाता (साउदी मालिक) बाट हवाई टिकटको व्यवस्था गराइएको थियो भने केही पीडित आफैँले खर्च बेहोर्दै आएका थिए। हाल नेपाली दूतावासको शरणमा पुग्ने हरेक नेपाली महिलालाई दूतावासको ढोकामै सोधिन्छ, 'तपाईँलाई बेच्ने दलाल को हो?'
नेपाली महिला घरेलु कामदार भएर विदेश जाने गरेका छन्। उनीहरूको अवस्था दिनदिनै बुझ्न लागि नेपाली दूतावाससँग स्रोतसाधनको कमी छ। त्यसकारणपनि नेपाली महिला ज्यादा पीडामा पर्ने गरेका छन्। 'नबुझी र अवैध बाटो हुँदै विदेश जाने महिलाहरू पीडामा परेका अनेक उदाहरण हामीले पाएका छौँ,' वैदेशिक रोजगार विभागका निर्देशक काशीराज दाहाल भन्छन्, 'महिलाहरूको उजुरी बढी आउनुको कारण पनि त्यही हो।'
केही खाडी मुलुक प्रवासी नेपाली महिलाका लागि उदार देखिए पनि त्यस मुलुकमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिलाका अवस्थाबारे जानकारी पाउन गाह्रो छ। काम गरेको घरमा पासपोर्ट खोसेर राखिदिने र घरबाट बाहिर जान नदिने ज्यादतीबारे स्थानीय सरकार र दूतावास पनि जानकार हुन नसक्ने अवस्था रहेका कारण नेपाली महिला समस्याग्रस्त भएका छन्। 'गाउँ-गाउँमा छरिएर रहेका दलालहरूको ठग्ने तरिका र भारतीय बाटो हुँदै जाने महिलाका बानीका कारण धेरै समस्या उब्जिएका छन्,' महिला अधिकारकर्मी सरु जोशी भन्छिन्, 'हामी त्यस्ता महिलाको उद्धार तथा अवैधानिक र असुरक्षित भएर विदेशको काममा जान नहुनेबारे चेतनाका कुरा गरिरहेका छौँ।' राज्यको उपयुक्त कानुनको प्रयोग गर्न नसकेका कारण पनि महिलाहरू समस्यामा परिरहेका छन्। तर, सरकारी निकायले भने विभागमार्फत वैदेशिक रोजगारीमा जाने महिलाका लागि तीन हप्ताको विशेष तालिमको व्यवस्था गरेको छ। राम्रो तलबको आकर्षण र कम लगानीको अवसर ठानेर महिलाहरू दलालमार्फत विदेशीभूमि हुँदै खाडी तथा अन्य मुलुक जाँदा समस्या र पीडामा पर्ने गरेका छन्।
छोराको शव झिकाइदिन गुहार
छोरालाई विदेश पठाएपछि सुदिन फिर्ने सपना देखेका थिए, सप्तरी, घोघनपुरका महमुद मियाले। तर, ३८ वर्षीय हकिम मियाको साउदी अरब पुगेको एक महिनापछि नै मृत्यु भएपछि अहिले मिया परिवार शोकमा डुबेको छ। अलकपी धात्मा मोहम्मदिन अब्दुल्ला अल कतानी नामक कम्पनीमा कार्यरत ३८ वर्षीय हकिम मिया कोठामा मृत फेला परेका थिए। उनको मृत्युको कारण खुल्न सकेको छैन। मौसम तथा रोगका कारण यसरी विदेशमा नेपाली कामदारको मृत्यु हुने गरेको छ।
काठमाडौँ, त्रिपुरेश्वरस्थित वर्ल्डवाइड म्यानपावर कम्पनीमार्फत डेढ महिनाअघि हकिम साउदी अरब गएको पिता महमुदले बताएका छन्। म्यानपावर कम्पनीलाई एक लाख रुपैयाँ बुझाएर विदेश गएका हकिमका दुई छोरा र दुई छोरी छन्। उनको शव नेपाल ल्याउन नसक्दा परिवारले उनको अन्तिम संस्कार गर्न सकेको छैन। बुढेसकालमा छोराको मृत्युले गहिरो शोकमा परेका महमुदले छोराको शव झिकाइदिन सरकारसँग माग गरेका छन्।
'हामी घटनाबारे बुझेर हकिमको शव झिकाउन प्रयास गरिरहेका छौँ,' परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।
विदेश जानेलाई टिप्स
दिनहुँ १५ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि मुलुक छाड्ने गर्छन्। पहिले म्यानपावर कम्पनी र एजेन्टलाई खाडी मुलुक जान नेपाली कामदारले एक लाख रुपैयाँभन्दा बढी तिर्ने गरेका थिए। अहिले पनि सरकारले तोकेको भन्दा बढी रकम असुलिरहेका छन्, म्यानपावर कम्पनी र विभिन्न एजेन्सीहरू। नेपाल सरकारको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रोजगारीका लागि एक सय आठ मुलुक खुला गरेको छ। अहिले इराकमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाइएको छ। खुला गरिएका मुलुकमध्ये केही मुलुक जान गर्नुपर्ने खर्च यसप्रकार छ :
कामदारहरूको लागत
मलेसिया रु. ८०,०००।-
खाडी मुलुक रु. ७०,०००।-
लिबिया रु. ९०,०००।-
मौरिसस रु. १९,९००।-
अल्जेरिया
दक्ष कामदारः रु. १,१८,०००।-
अदक्ष कामदार रु. १,२३,०००।-
इजरायल : रु. ६५,०००।-
जापान : रु.५०,०००।-
रसिया : रु. ८०,०००।-
पोल्यान्डः ८०,४००।-
प्रतिक्रियाहरू
No comments:
Post a Comment