Thursday, July 26, 2012

साउदीमा ६९ नेपाली बिना तलब भोकभोकै

सुरेन्द्र पौडेल, काठमाडौं, साउन ११- वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र साउदी अरब पुगेका ६९ नेपालीलाई रोजगारदाता कम्पनीले बिनातलब जबर्जस्ती काममा लगाइरहेको खुलेको छ। एकै घरमा राखेर सहमतिभन्दा फरक काम गर्न बाध्य पारिएका उनीहरुमध्ये दुईजना उम्केर दूतावास सम्पर्कमा आएपछि घटना सार्वजनिक भएको हो।
साउदी दूतावासका अनुसार चार महिनाअघि साउदी पुगेका उनीहरुलाई मासिक तलब नै नदिए एक छाक खानको भरमा जबर्जस्ती काममा लगाइएको छ।
'अलपत्रमध्ये केही भर्खर दूतावासको सम्पर्कमा आएका छन्। उनीहरुलाई एउटा काममा सहमति गरी अर्को काममा लगाइएको रहेछ,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले फोनबाट जानकारी दिए, 'नेपाली कामदार र रोजगारदाता कम्पनीबीचको वास्तविक समस्या के हो, हामी बु‰ने प्रक्रियामा छौं।'
पाण्डेका अनुसार बानेश्वरस्थित नबिल ओभरसिजकी राधिका कटवालमार्फत उनीहरु साउदी पुगेका थिए।
दूतावासको सम्पर्कमा आएकाले आफूहरुलाई बिनातलब एक छाकमात्र खान दिएर सहमतिभन्दा फरक काम लगाएको जानकारी दूतावासलाई गराएका छन्। कामदारको सूचनाका आधारमा दूतावासले सम्बन्धित कम्पनीमा सम्पर्क गरी नेपाली कामदारको अवस्थाबारे जानकारी मागेको थियो।
'उनीहरुले तीन/चार महिनादेखि तलब नपाएको जानकारी हामीले पाएका छौं,' राजदूत पाण्डेले भने, 'आउँदो शनिबारसम्म तलब उपलब्ध गराउने वचन कम्पनीले दिएको छ।'
कम्पनीले तलब उपलब्ध गराउने वचन दिए पनि कामदारको अवस्था भने निकै दयनीय रहेको जनाइएको छ। उनीहरुको दयनीय अवस्थाबारे सूचना नेपाल आएपछि बुधबार परराष्ट्र मन्त्रालयमा श्रम विभाग, वैदेशिक रोजगार विभाग, परराष्ट्रका सम्बन्धित पदाधिकारीको बैठक बसेको थियो।
बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अतिरिक्त प्रहरी महानिरीक्षक कुवेर रानासमेतको उपस्थिति थियो। बैठक चलिरहँदा मन्त्री श्रेष्ठले पटकपटक साउदी अरबस्थित नेपाली दूतावासमा फोन गरी अलपत्र नेपाली कामदारबारे जानकारी लिएका थिए। उनले फोनबाटै उनीहरुको उद्धार कार्य तत्काल थाल्नसमेत दूतावासलाई निर्देशन दिएका थिए।
'उनीहरुलाई साउदी लैजाने त्यहाँको म्यानपावर सप्लाई कम्पनी साउदी सरकारको कालो सूचीमा परेको कम्पनी रहेछ,' बैठकमा सहभागी एक सदस्यले भने, 'कालो सूचीमा परेको कम्पनीलाई कामदार लैजान कसरी स्वीकृति दिइयो, आश्चर्य छ।'
झन्डै ७ लाख नेपाली कामदार रहेको साउदीमा दलालहरुको फन्दामा परी नक्कली सहमतिपत्रमा जानेनेपालीको संख्या ठूलो रहेको छ। यस्ता कामदारलाई त्यहाँ पुगेपछि रोजगारदाता कम्पनीले सहमति गरेभन्दा फरक काममा लगाउने गर्छन्। कम्पनीहरुलेजबर्जस्ती उनीहरुलाई कहिल्यै नगरेको काममा पनि लगाउने गर्दा दुर्घटनामा परी कामदारको मृत्युसमेत हुने गरेको छ।
साउदीमा अलपत्र ६९ जनालाई भने श्रमबाट नै स्वीकृति लिएर सक्कली सहमतिपत्रकै आधारमा साउदीपुर्‍याएको जनाइएको छ।

No comments:

Post a Comment