बझाङ, श्रावण ८ - बझाङको रिलु गाविसमा एक सातादेखि झाडापखाला फैलिएको छ । रिलु ८ थला गाउँसँगै उक्त गाविसका ५ र ६ नम्बर वडामा झाडापखालाबाट २४ भन्दाबढी थला परेका छन् । झाडापखालाका कारण बिरामी परेकाहरूमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीय केशव बोहराले बताए । उनका अनुसार अन्य पखालाका बिरामीहरूको अवस्था सामान्य भए पनि उपचार अभावमा दिन प्रतिदिन उनीहरूको अवस्था पनि जटिल बन्दै गएको छ ।
रिलु उपस्वास्थ्य चौकीमा एक महिनादेखि अहेव छैनन् । उनी नभएपछि कार्यालय सहयोगीले स्वास्थ्य चौकीमा आएका बिरामीलाई जीवनजल मात्र दिने गरेको स्थानीय बासिन्दाले बताए । स्थानीय जनक द्वालले भने, 'स्वास्थ्य चौकीमा डाक्टर नभएपछि झाडापखालाका बिरामीलाई निको पार्न पनि धामी, झाँक्री र वैद्यलाई देखाउने गरेका छन् ।'
यस्तै वर्षायाम सुरुवातसँगै छान्ना, थलारा, बुगंल क्षेत्रका गाविसहरूमा पनि झाडापखालाका बिरामी बढेका छन् । यी क्षेत्रहरूमा झाडापखाला प्रकोपकै रूपमा नफैलिएको भए पनि समयमा नै उपचारको व्यवस्था गर्न नसके महामारीका रूपमा फैलन सक्ने खतरा बढेको सैनपसेलाका शिक्षक विष्णु दौल्यालले बताए । उनले स्वच्छ खाने पानी अभावले बर्सेनि झाडापखाला देखिने गरेको बताए ।
जिल्ला अस्पतालमा पनि एक सातायता दैनिक आठ/दस जना झाडापखालाका बिरामी आउने गरेको अस्पतालले जनायो । सदरमुकाममै सञ्चालित अमिसा निजी अस्पतालमा पनि झाडापखालाका बिरामी दिन प्रतिदिनबढिरहेको सञ्चालक गंगा जोशीले बताए । जिल्ला स्वास्थ्य प्रमुख डाक्टर इन्द्रप्रसाद पौड्यालले यहाँ विभिन्न ठाउँमा झाडापखाला फैलिएको भन्ने जानकारी आएको र यसका लागि आफूले सबै स्वास्थ्य संस्थालाई औषधि उपचारमा खटिन निर्देशन दिएको बताए । उनले रिलु गाविसका बासिन्दा झाडापखालाले बढी प्रभावित रहेको जानकारीमा आएकाले त्यसतर्फ औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भइरहेको बताए ।
जिल्लामा झाडापखालाका लागि पर्याप्त औषधि रहेकोबताउँदै प्रमुख पौडेलले स्थानीय एफएम तथा पत्रपत्रिकामार्फत पनि झाडापखाला फैलिन नदिन चेतनामूलक सन्देशहरू दिइरहेको बताए । गत वर्ष यस जिल्लामा झाडापखालाबाट मानवीय क्षति नभए पनि त्यसभन्दा अघिल्लो वर्ष सात जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: २०६९ श्रावण ८ १२:०९
No comments:
Post a Comment