गोपाल दाहाल, धरान, साउन १४- 'थोरै समयमा धेरै कमाउने हो भने हामीसँग हिँड, राम्रो कमाइ हुन्छ, बसिबसी तलब आउँछ,' सुनसरी तरहराका धनबहादुर पुरीलाई चिने/जानेका मान्छेले पटक पटक सम्झाए, 'राम्रो कम्पनी हो, नामचाहिँ भन्न मिल्दैन।
करकापपछि करिब ६ हजार भारु खर्चेर भारतको हरियाणा पुगेका पुरीले तालिमपछि लगानी भन्दै भारु १५ हजार ५ सय रुपियाँ बुझाए। ब्लास्ट दैनिकका संवाददाता समेत रहेका पुरी झल्यास्स अहिले भएका छन्- त्यो त सपनाको व्यापार पो रहेछ।
झल्यास्स हुने धनबहादुर एक्लै छैनन्। धरान-१२ चतरालाइनमा इलेक्ट्रिकल पसल सञ्चालन गर्दै आएकानिर्मल मगरलाई पनि गुलियो प्रस्ताव आयो। निकै करकापपछि उनी पनि उतै लागे, ६ हजार भारु खर्चेर। एक साता पसलै थुनेर गएका निर्मलले चार वर्षमा ४० वर्षको कमाइ हुने आश्वासन पत्याउनै सकेनन्। र, फर्के फेरि पसल खोल्न।
नेपालमा सरकारले नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाएको छ। धन्दा गर्नेहरु भने नेपाललL नेटवर्कमा फसाउँदैछन्, भारतीय भूमि प्रयोग गरेर। विलियम भेन्चर इन्टरनेसनल (विभिआई) नामको फ्रेन्च मार्केटिङ कम्पनी भन्दै पूर्वका धरान, तरहरा, इटहरी, बेलबारी, केराबारी, झापालगायत ठाउँमा दैनिक ५० भन्दा बढी युवायुवती भारत लगिँदैछन्। उनीहरुले लग्ने ठाउँ हरियाणाको गुडगाउँ प्लट नं ६२८ हो, जहाँ यो तथाकथित कम्पनीकोअखडा छ।
तालिम लिएर र लगानी गरेर फर्किएकालाई 'सिनियर' भनिन्छ, यो नेटवर्किङ दुनियाँमा। ती 'सिनियर' को कामचाहिँ आफ्नो ठाउँमा आएर अरुलाई लैजानु हो। त्यस्ता सम्भावित ग्राहकलाई उनीहरुको भाषामा 'डाइमन्ड' भनिन्छ। सिनियरहरु यिनै 'डाइमन्ड' को खोजीमा छ्याप्छ्याप्ती भेटिन्छन् पूर्वेली सहरमा। तालिम लिएर आउने १० हजारभन्दा बढी त्यहाँ पुगिसकेका छन्। पोखरा क्षेत्रबाट पनि प्रशस्त युवायुवती त्यहाँ गइरहेको उनीहरुको भनाइ छ।
तालिम लिएर फर्किएकाहरुका अनुसार विभिआईको माथिल्लो तहमा रहेका नेपाली पोखराका दिनेश तामाङ, उनकी बहिनी नुना तामाङ, हङकङ आइडी होल्डर कल्याण सुब्बा, इटहरीका जितेन तामाङ र धरानकी पुनम राई मुख्य छन्। कम्पनीका विदेशी प्रोड्युसर पनि छन्, जसलाई वाइसिएल भनिन्छ। तालिम लिन जानेहरु सबै नेपाली हुन्छन्, केही भारतीय जस्ता देखिने कर्मचारी छन् उता।
फ्लाट नै लिएर बसेका उनीहरुसम्म 'सिनियर' हरुले नेपालबाट 'डाइमन्ड' लिएर जान्छन्। डाइमन्डलाई दिइने तालिम पनि गजबकै हुने गर्छ, यिनीहरुको। संघर्ष गर्न सिकाउने भन्दै सुरुमै भुइँमा सुताइन्छ डाइमन्डलाई। त्यसपछि उनीहरुको काम हुने गर्छ- वरिपरिका बेरोजगारको सूची तयार पार्नु। किनकि यो कथित व्यवसायको पहिलो निशाना नै बेरोजगार हुने गर्छन्।
दुर्व्यसनमा लागेका युवा झनै सम्भाव्य हुने गर्छन्। उनीहरु धरान, पोखराजस्ता बढी दुर्व्यसनी भएका घरघरमा गएरसपनाको बिस्कुन फिँजाउँछन्। 'यहाँ दुर्व्यसनमा डुब्नुभन्दा उतागएपछि धेरै सिक्छन् भन्दै अभिभावकलाई कन्भिन्स गर्छन्,' तालिम लिएर फर्किएका निर्मल मगरले भने, 'बेरोजगारको सूची बनाइसकेपछि कस्ता मान्छेलाई कसरी आकर्षित गर्ने भनेर सिकाउँछन्।'
तालिमपछि कम्पनीमा प्रवेश गर्न 'एप्रुबल पास' गर्नुपर्छ। बढी खोजीनीति गर्नेलाई फेल गरिन्छ। पास भएपछि १५ हजार ५ सय प्रवेश शुल्क, १ हजार लाइसेन्स शुल्क र १२ प्रतिशत ट्याक्स गरी १८ हजार ५ सय भारु बुझाएपछि बल्ल कम्पनीमा प्रवेश पाइन्छ। प्रवेश पाउनुलाई २० प्रतिशत भनिन्छ।
अन्य नेटवर्किङजस्तै लेबललाई यसमा प्रतिशत भनिन्छ। यसरी प्रवेश पाइसकेपछि ६ जना डाइमन्ड लानुपर्छ अथवा थप २ लाख ९८ हजार ४ सय भारु एकैपटक बुझाएपछि ३८ प्रतिशत सिनियर भइन्छ। त्यसपछि करिब ४ लाख नेपाली रुपैयाँ लगानी गर्ने एक जना लगेपछि मासिक ५३ हजार पाइने आश्वासन दिइन्छ। ३८ प्रतिशत पुगेर आफूमुनि ६० लाखको कारोबार गरेमा ४१ प्रतिशतको सिनियर भइन्छ।
पैसा बुझाएर प्रवेश पाएपछि सदस्यलाई 'एड पिनट' ब्रान्डका सेन्ट र औषधी दिइन्छ। ती सेन्ट महँगा हुन्छन्। एक लिटरको नेपाली ७ हजारजति पर्छ। त्यो सदस्यहरुले बेच्न सक्दैनन्। त्यसैले साथीभाइलाई बाँड्नु र केही आफूले प्रयोग गर्नुको विकल्प हुँदैन। यसरी दिइने औषधीले पिनास, रुघा, खोकी जस्ता धेरै रोग निको हुने दाबी गरिन्छ।
तालिममा ओपिपी क्लास, एप्रुबल क्लास हुन्छन्। जहाँ साथी, आफन्त, बुबाआमा, नचिनेका मान्छे सबैलाईसम्झाई/बुझाई कसरी फसाउने भन्ने अलग अलग तरिका सिकाइन्छ। अनि 'मैले यति महिनामा यति कमाएँ' भनेर सफलताको कथा सुनाउनेहरु आउँछन्। यी सबै क्रियाकलापका कारण सहभागी भावुक बन्छन् र धमाधम पैसा लगानी गर्छन्।
जब उनीहरु नेपाल फर्कन्छन्, अनिमात्र चुर्लुम्म डुबेको पत्तो पाउँछन्। ४ लाख रुपैयाँसम्म लगानी गर्नेहरु पनि अहिले अरु सदस्य बनाउन नसकेपछि पैसासँगै चिन्तामा डुबेका छन्। धेरै सिनियरहरु भने अरुलाई मुर्गा बनाएर आफ्नो पैसा उकास्ने प्रयासमा 'डाइमन्ड' खोज्दै घरघर घुमिरहेका छन्।
'कन्भिन्स' गर्दै गर्दा भेटिएका र आफूले कम्पनीको मार्केटिङ र तालिम सेक्टर हेर्ने बताउने दिलिप बज्राचार्यले भने भारतमा दर्ता भएर कम्पनी चलेकाले यो व्यवसाय अवैध नभएको दाबी गरे। सुरुमा कम्पनीको नाम र काम बताउन नमानेका उनले भने, 'हाम्रो सरकारले देखिसहँदैन तर विभिआईमा लागेर धेरै मानिस धनी भएका छन्।'
उनले जे दाबी गरे पनि यो नेटवर्किङ नेपालमा बन्द गरिएका युनिटी, हर्बोभन्दा कम अवैध होइन। यही कारण यसमार्फत गरिएको लगानी बढी जोखिममा छ। नेपालमा दर्ता भएर चलेका नेटवर्किङले त धेरैको करोडौं डुबाएका बेला भारतमा सञ्चालित यो नेटवर्कमा पैसा डुबाउनेहरुले पछि खोजी गर्ने बाटो पनि बन्द हुन्छ। 'यो धन्दाबाट करोडौं नेपाली रुपियाँ बाहिरिइरहेको छ, यसलाई राज्यले निगरानी गर्नु आवश्यक छ,' करकापमा झन्डै डायमन्ड बनेका एक युवकले सुझाए।
प्रहरी भने यसबारे बेखबर छ। धरानका डिएसपी राजेन्द्र विष्टले आफूले यसबारे यदाकदा सुने पनि उजुरी/गुनासो नआएकाले खासै थाहा नभएको बताए
No comments:
Post a Comment