काठमाडौ, श्रावण ९ - अफ्रिकाको मदागास्कार पुगेका दुई दर्जन नेपाली आइतबारदेखि थप बिचल्लीमा परेका छन् । काठमाडौं, दिल्ली र मदागास्करका दलालहरूले जनही साढे ३ लाख रुपैयाँ असुल्दै हिन्द महासागरको टापुमा पुर्याइएका नेपालीमध्ये आठ जनाको पासपोर्ट एक घर मालिकले खोसेर राखेका छन् । बाँकी बस्ने ठाउँबाट निकालिएर सडक छेउछाउमा आश्रति भएका छन् ।
मदागास्कर टापुसँग नेपाल सरकारको कूटनीतिक सम्बन्ध नरहेको र सहप्रमाणीकरणको जिम्मेवारी अन्य कुनै मुलुकलाई नतोकिएको कारण परराष्ट्र मन्त्रालयले अलपत्र नेपालीको उद्धार गर्न दुई साताअघि इजिप्टको कायरो र दक्षिण अफ्रिकाको पि्रटोरियास्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो । तर, उपाय निस्कन सकेको छैन । अलपत्र बनेका झापा, काँकडभिट्टाका खड्गबहादुर दाहालका अनुसार स्थानीय एजेन्टले आफूसहित पाँच जनालाई राखेको होटलको खर्च तिर्न नसकेपछि आइतबारदेखि निकालिदिएको छ । दाहालसहित श्याम आले मगर, लालबाबु ठाकुर, श्याम श्रेष्ठ र आशिष तामाङ भने कष्टकर दिन बिताइरहेका छन् । उनीहरूलाई काठमाडौंका मुख्य एजेन्ट सुनिल शाही, खेमबहादुर राई (दिल्ली) र यादव नेपाल (मदागास्कर) ले काठमाडौं, दिल्ली, मुम्बई, केन्या हुँदै मदागास्कर पुर्याइएको थियो । यीमध्ये पीडितका आफन्तको उजुरी र ताकेतापछि मुख्य एजेन्ट शाहीलाई एक महिनाअघि पक्राउ गरेर हनुमानढोकामा थुनामा राखिएको छ भने नेपाल मदागास्करमै छन् ।
पीडित दाहालका अनुसार अलपत्र पार्ने एजेन्टमध्ये एक प्रेम सेन 'पैसा खोजेर आउँछु' भन्दै मदागास्करबाट उम्केर नेपाल आइपुगेका छन् ।
गैरआवासीय नेपाली संघ, अफ्रिकाका संयोजक हिक्मत थापाले पनि अलपत्र कामदारसँग फोन सम्पर्क गर्दै उनीहरूको तात्कालिक खानपिन प्रबन्ध र घरफिर्तीका लागि उपाय पहिल्याउन थालेका छन् । उनले मदागास्करमा लामो समयदेखि बस्दै आएका एक दर्जनभन्दा बढी नेपालीको सम्पर्क पहिल्याएर अलपत्र नेपालीको खानपिन भरथेगका लागि पहल गर्ने जानकारी दिए । यसैबीच, अफगानिस्तानमा डेढ महिनासम्म बन्धक रहेका १० नेपालीलाई उद्धार गरेर घर फिर्ता ल्याउन सफल रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) का नेपाल प्रमुख शरत दासले मदागास्कारमा अलपत्र नेपालीबारे उद्धारमा सहयोगका लागि नेपाल सरकारबाट आग्रह आए विचार गर्न सकिने बताएका छन् ।
No comments:
Post a Comment