Saturday, June 16, 2012

'मेरा केटाहरु युद्धमा निस्केका घोडा जस्ता छन्, हामी जित्छौं'

एएफसी यु-२२ च्याम्पियनसिप छनोटमा नेपालको भिडन्त वंगलादेशसँग-
काठमाडौं, असार २ (नागरिक)- नेपाली यु-२२ टोलीका मुख्य प्रशिक्षक कृष्ण थापा एएफसी यु-२२ च्याम्पियनसिपको छनोटमा शनिबार वंगलादेशविद्ध विजय हासिल गर्दै सफल सुरुवात गर्नेमा प्रतिवद्ध छन्। समुह डी को छनोट शनिबार दशरथ रंगशालामा सुरु हुँदा नेपाली खेलाडीको शारिरिक फिटनेस र आक्रामक शैली जितको आधार बन्न सक्ने प्रशिक्षक कृष्ण थापा बताउछन्।
'मेरा केटाहरु युद्धामा निस्केका घोडाजस्ता छन्। हामी वंगलादेशविरुद्धको खेल सहजै जित्छौ जस्तो लागेको छ, किनकी केटाहरु शारिरिक रुपमा पूरा फिट छन् र अभ्यासमा ट्याक्टिकल पक्षमा पनि राम्रो देखिएका छन्,' शुक्रबार पत्रकार सम्मेलनमा थापाले भने।
वंगलादेश र यमनविरुद्धको पहिलो दुई खेलमा जित्ने लक्ष्य बनाएका थापा भन्छन्, 'मैले वंगलादेशको अभ्यास आज बिहान (शुक्रबार) हेरेको थिए। उनिहरु शारिरिक रुपमा हाम्रा केटाभन्दा बलिया देखिएपनि मेरा केटाहरु प्राविधिक र रणनीतिक रुपमा उनिहरुभन्दा धेरै माथि छन्। केटाहरुले खेलमा स्वभाविक क्षमता प्रदर्शन गरे भने हामीलाई उनीहरुले रोक्न सक्दैनन्।'
युवा टोलीमा पनि आफूसँग केही महत्वपुर्ण राष्ट्रिय खेलाडीको साथ रहेकाले थापा राम्रो नतिजा आउनेमा विश्वस्त छन्। यु-२२ टोलीका कप्तान भरत खवास आफ्नो नेतृत्व प्रमाणित गर्न पूरा मेहनत गर्ने बताउछन्। 'मसंग राष्ट्रिय टोलीबाट खेलेको अनुभव पनि छ। हामीले पहिलो दुई खेल जित्नु पर्नेछ,' उनले भने।
शनिबार वंगलादेशसंग खेलेर प्रतियोगिताको सुरुवात गर्ने नेपालले सोमबार यमन, बुधबार उज्वेकिस्तान तथा शुक्रबार जोर्डनसंग खेल्नेछ। वंगलादेशी प्रशिक्षक सईद गोलाम जिलानीले पनि नेपालविरुद्ध विजयी सुरुवात गर्ने योजना सुनाए।'हामी सवै प्रतिद्धन्दीलाई सम्मान गर्छौ, तर जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छौ,' उनले भने।
छनोटको उदघाटन खेलमा यमनले जोर्डनसंग दशरथ रंगशालामा खेल्नेछ। जोर्डनका प्रशिक्षक इस्लाम डाईबाटले प्रतियोगितामा सवै टोली समान क्षमताकाभएको बताउदै आफुहरु छनोट हुने लक्ष्यका साथ नेपाल भ्रमणमा आएको बताए।
यसैगरी यमनका प्रशिक्षक अब्राहम मेब्राटुले प्रतियोगितामा सवै प्रतिद्धन्दीलाई राम्ररी अध्ययन गरेपछि मात्र रणनीति बनाउने बताए।

No comments:

Post a Comment