Friday, June 22, 2012

नेपालले चाहेजस्तो सहयोग गर्न तयार रहेको भारतीय प्रधानमन्त्रीको भनाइ

रियो दी जेनेरियो, असार ८- भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालले चाहेजस्तो सहयोग प्रदान गर्न भारत तयार रहेको बताएका छन्। दिगो विकाससम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनको सिलसिलामा प्रधानमन्त्री डाबाबुराम भट्टराईसँगको भेटघाटमा उनले नेपालले प्राथमिकतामा राखेका आर्थिक एजेन्डाहरूमा पूरापूर सहयोग प्रदान गर्न भारत इच्छुक रहेको उल्लेख गरेका हुन्।
नेपालको जारी शान्तिप्रक्रियाप्रति चिन्ता प्रकट गर्दै भारतीय प्रधानमन्त्री सिंहले नेपालले अहिलेको सङ्क्रमणकाललाई होसियारीपूर्वक व्यवस्थापन गर्ने आशा व्यक्त गरेको प्रधानमन्त्री भट्टराईले जानकारी दिए। बैठकपछि प्रधानमन्त्री भट्टराईले भने, 'नेपालको शान्तिप्रक्रियाले पूर्णता पाओस् र नेपाली जनताको आकाङ्क्षाअनुरूप बलियो बहुदलीय लोकतन्त्र स्थापित होस् भन्ने भारतको चाहना छ।'
प्रधानमन्त्री भट्टराईका अनुसार दुवै देशका विदेश मन्त्रालयको तहमा नेपाल-भारत संयुक्त आयोगलाई क्रियाशील बनाई द्विपक्षीय सहयोग र आपसी हित प्रवर्द्धन गर्ने विषयमा भएको छलफल पनि बैठकको उल्लेख्य पक्ष हो ।
बैठकमा नेपालको खाँचोअनुसार सहज विद्युत् आपूर्ति गर्ने तत्परता पनि भारतले देखाएको थियो । दुई नेताबीच करिब आधा घन्टा छलफल भएको थियो।
यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेपालमा जारी शान्ति र संविधान लेखनको प्रक्रियाका बाँकी कार्य पूरा गर्न राजनीतिक दलहरूबीच राजनीतिक सहमति र समझदारी निर्माण गर्नु अति आवश्यक रहेकोमा जोड दिएका छन्।
राष्ट्रसङ्घका महासचिव मुनले ब्राजिलमा भइरहेको दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा प्रधानमन्त्री बाबुराम भट्टराईसँगको द्विपक्षीय भेटका क्रममा यस्तो धारणा राख्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री भट्टराई र महासचिव मुनबीच नेपालको शान्तिप्रक्रिया र संविधान लेखन, नेपालको पछिल्लो राजनीतिक परिस्थिति, अतिकम विकसित मुलुकका सवालहरू तथा लुम्बिनीको विकाससमेतका विविध विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्री भट्टराईले संविधानसभाको म्याद समाप्त भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा महासचिव मुनलाई जानकारी गराएका थिए। उनले शान्ति र संविधानका बाँकी कार्यभार पूरा गर्न राजनीतिक दलहरूबीच संवाद र सहमति कायम गर्न आफ्नो सरकारले प्रयत्न गरिरहेको छ उल्लेख गरे।
प्रधानमन्त्री भट्टराईले नेपालको शान्तिप्रक्रियामा राष्ट्रसङ्घले विगतदेखि नै निर्वाह गरिरहेको सकारात्मक भूमिकाको प्रशंसा पनि गरेका थिए। भेटका क्रममा महासचिव बानले नेपालमा दिगो शान्ति र स्थायित्वको पक्षमा आफूले सदैव चाखका साथ नेपालको वस्तुस्थिति नियालिरहेको बताउँदै नेपालमा संविधान लेखन प्रक्रियामा चाँडै तात्विक प्रगति हुने विश्वासव्यक्त गरे। रासस
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment