काठमाडौँ, असार ३ - नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बहुलवाद, प्रेस स्वतन्त्रता, मानव अधिकार, विधिको शासन र लोकतन्त्रसँग कुनै पनि हालतमा आफ्नो पार्टीले सम्झौता गर्न नसक्ने बताएका छन्। उनले सङ्घीयता, समावेसी, लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई रक्षा गर्न प्रेसको महत्वपूर्ण भूमिका हुने बताए।
महिला सञ्चारकर्मीद्वारा आज यहाँ आयोजित वर्तमान राजनीतिक अवस्था र त्यसको निकास विषयक अन्तरक्रियामा बोल्दै सभापति कोइरालाले एमाओवादीले १२ बुँदेदेखिका प्रत्येक सम्झौता र सहमतिको पटकपटक उल्लङ्घन गरेकाले नै संविधान बनाउने काममा सहमति जुट्न नसकेको बताए।
सभापति कोइरालाले भने - 'अब पनि सहमतिको विकल्प छैन। सहमति भन्ने शब्द लेख्दालेख्दा पत्रकारहरुथाके पनि मुलुकलाई सफल पार्न सहमतिनै उपयुक्त उपाय हो भन्न म थाकेको छैन।'
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलबीच विश्वासको वातावरण कायम गर्न प्रधानमन्त्री बाबुराम भट्टराईको बर्हिगमन र सहमतिको सरकार गठन नै उपयुक्त उपाय भएको बताए।
सङ्घीयताको नाम र सङ्ख्या पछि टुङ्ग्याउने गरी संविधान बनाउन सकिन्थ्यो तर एमाओवादीको सत्ताकब्जा गर्ने मानसिकताले गर्दा त्यस्तो प्रयाश असफल भएको नेता नेपालको भनाइ थियो।
उनले दलीय सहमतिबाटै कुनै वैधानिक प्रक्रियाबाटनयाँ संविधान निर्माण सकिने धारणा पनि व्यक्त गरे।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानका आधारभूत सिद्धान्तहरुमा दलहरुबीच पहिले नै सहमति नभएकाले संविधान आउन नसकेको धारणा राख्दै त्यसमा सबभन्दा बढी जिम्मेवार एमाओवादी रहेको बताए।
उनले अहिलेको अन्तरिम संविधानले संविधानसभाको निर्वाचनको कुनै व्यवस्था नगरेकाले राजनीतिक सहमतिका आधारमा संविधान बनाउने विकल्प निकाल्नुपर्ने विचार राखे।
एमाओवादीका नेत्री पम्फा भूषालले संविधानसभामा लोकतान्त्रिक अभ्यास नगरिएको बताउँदै नयाँ संविधान नआउनुमा तीनदलका शीर्ष नेता जिम्मेवार छन् भनिन्।
उनले भनिन् - 'अब गोलमेच सभाबाट संविधान लेखिनुपर्छ।'
प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment