Friday, June 15, 2012

गोली हानी हत्या गरिएका न्यायाधीश बम शहीद,परिवारलाई १० लाख दिइने

काठमाडौं, असार १ (नागरिक)- गोली हानी हत्या गरिएकासर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई सरकारले शहीद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बमलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।
विवादास्पद फैसलाका कारण महाअभियोग लगाउने प्रक्रियामा रहेकै बेला जेठ १८ गते बंगलामुखी मन्दिरबाट फर्कने क्रममा उनको हत्या भएको थियो। शंखमुलको युएन पार्क नजिकै मोटरसाइकलमा आएका अज्ञात दुई व्यक्तिले गोली हानी न्यायाधीश बमको हत्या गरेका थिए। हत्याको दुई हप्ता बितिसक्दा पनि प्रहरीले अपराधी पहिचान गर्न सकेको छैन।
सर्वोच्चका न्यायाधीशमध्ये शहीद बन्ने बम पहिलोहुन्। सर्वोच्च अदालत सम्बद्ध विभिन्न पाँच संघ संगठनले बमलाई शहीद घोषणा गर्न र उच्च स्तरीय न्यायिक आयोग गठन गरी घटनाको छानबिन गर्न माग गरेका थिए।
सरकारले सर्वोच्चका न्यायाधीश प्रेमप्रसाद शर्माको अध्यक्षतामा घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। आयोगका अन्य सदस्यमा प्रहरी प्रधान कार्यालयबाट नभेष गुरुङ र महान्यायाधिवक्ताको कार्यालयबाट प्रेमराज कार्की रहेको मन्त्री दीनानाथ शर्माले सञ्चारकर्मीहरुलाई जानकारी दिए।
त्यसैगरी सरकारले बमको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च बेहोर्ने निर्णय पनि गरेको छ।

No comments:

Post a Comment