Saturday, May 12, 2012

४३ परिवारमा लाश न आश

'अब बेपत्ताको खोजी निरर्थक'-
मनोज अधिकारी, पोखरा, वैशाख ३०- शनिबार सेती नदीको बाढीले कैयन् मानिसको मृत्यु गरायो र दर्जनौंलाई बगाएर बेपत्ता बनायो। उक्त घटनामा ज्यान गुमाउनेको सङ्ख्या २९ पुगेको छ। प्रहरी विवरणमा बाढीले बगाएर अझै ४३ जना बेपत्ता छन्। मृतकका परिवारजनमा शोक छाएको छ भने लाश न आशको अवस्थामा रहेका बेपत्ताको परिवार झन् बढी चिन्तित छन्।
बेपत्ताको लाश वा आश गर्ने आफन्त धेरै छन्। उद्दारमा जुटेको प्रशासनलाई बेपत्ता परिवारको भावनाअनुरुप काम गर्नुपर्ने चुनौती छ।
बेपत्ताको सङ्ख्या धेरै भएकाले प्रहरी र स्थानीय प्रशासनको पहिलो ध्यान उनीहरुको खोजीमै बितिरहेको छ। मृतक परिवारभन्दा धेरै पीडा बेपत्ताका आफन्तमा भएकाले उनीहरुको मन राख्दै खोजीमा तल्लिन हुनुपरेको प्रशासनको भनाई छ। एक सातादेखि खोजी अभियानमा दैनिक पाँच–छ सय सुरक्षाफौज (सेना, प्रहरी र सशस्त्र) घटनास्थल खारापानीमा क्याम्प बनाएर खटिएका छन्। प्राविधिकसहितका उद्दार सामग्रीले दलदले हिलो पन्छाउँदै मानिस पुरिएको अनुमान गरी बेपत्ताको खोजी दिनरात भइरहेको छ। शुक्रबारसम्म पनि यो क्रम जारी छ।
अधिकारीहरुका अनुसार ठूलो सुरक्षाफौज, प्राविधिक, उपरकण र तालिम प्राप्त कुकुर परिचालन गरिए पनि खोजी कार्य उपलब्धिविहीन भइरहेको छ। सुरक्षाकर्मीले पुरिएको शङ्कामा जतिसुकै उत्खनन् गरे पनि कुनै शव भेटिएका छैनन्। यसले आफन्त गुमाउनेहरु न लाश न आशको अवस्थामा दिन बिताइरहेका छन्। उनीहरुका आशा विस्तारै निराशामा परिणत हुँदै गएका छन्।
'बाढीले आफन्त बेपत्ता बनाएका परिवारको अवस्थाप्रति बढी संवेदनशील भएका छौं', जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष एवम् कास्कीका प्रजिअ चेतनाथ भट्टराई भन्छन्- आफन्तको लाश वा आश गर्नेहरुको मन राखेर खोजी कार्य गर्दै आए पनि यो उपलब्धिमूलक बन्न सकेको छैन।
घटनाकै दिन १३ जनाको मृत्युसँगै सबैको शव फेला परेको थियो। मुख्य घटनास्थल खारापानीमा गोपाल ताम्राकारको मात्रै र अन्य १२ को नदीले बगाएर ल्याउने क्रममा हेम्जा, याम्दी, बगर, नदीपुर, रामघाट र सेतीको पुछार दोबिल्लामा भेटिएका हुन्। घटनाको दोस्रो दिनयता थप १५ वटा शव भेटिएका छन्। ती शव खोजीमा परिचालित उद्दार सामग्रीको उत्खनन् र खोजीमा परिचालित सुरक्षाफौबाट फेला पारिएका होइनन्। नदीमा पानीको बहाव घट्दै जाने र नदीको गहिरो खोंचतिर अडि्कएका शव विस्तारै बग्दै खुला ठाउँमा निस्कने क्रममा थप १५ शव फेला परेका हुन्। यसमध्ये एउटा सिंचाईका लागि लगिएको नहरमा भेटिएको छ।
बाढीमा परी छ बालबालिकाले बाबुआमा गुमाएका छन्। उनीहरु इन्द्र लिम्बू (५), सुसन राई (८), बीना गुरुङ (१२), कुशल गुरुङ (१३), चाहाना पुन (१३) र अमृत पुन (२०) छन्। उनीहरुको पालनपोषण र पठनपाठनमा समस्या भएको छ। तीमध्ये इन्द्र लिम्बूलाई एसओएस बालग्राम पोखराले संरक्षण दिने निर्णय गरेको छ। कानुनी कागजात जुटाउनुपर्ने प्रक्रियाका कारण यसमा ढिलाई भएको छ। दैनिक ज्यालादारी काम गरेर गुजारा गर्नुपर्ने मजदुर परिवारका लोग्ने बाढीमा बगेपछि धेरै महिला काखे छोरीछोरी लिएर भोकभोकै रोइरहेका छन्।
बेमौसमको प्रयलकारी बाढीमा रमा भुजेलले पति मीनबहादुरलाई गुमाइन्। कुमारी विकले १६ वर्षे जवान छोराको वियोग सहनुपर्‍यो। घरबारविहीनरुपमा विकको पति प्रेमसँग पनि साथ टुट्यो। कोमलप्रसाद खनालले बजारमा राखेर व्यापार सिकाउँदै गरेका १३ वर्षे छोरा सेतीमा बगेको देख्‍नुपर्‍यो। बाढीले टुहुरो बनाउने, एक्लो बनाउने र बेसहारा बनाएका यी प्रतिनिधि पात्र हुन्।
उनीहरु जस्तै बेपत्ता भएका ४४ जनाको शव खोज्न प्राविधिक, सुरक्षा फौज र आधा दर्जन स्काभेटरसहितका सामग्री परिचालन गरिँदै आएको छ।तर एक साता लामो प्रयास सबै निरर्थक भइरहेको दैवी प्रकोप उद्दार समितिको निष्कर्ष छ। यतिका धेरै मानिस बेपत्ता हुँदा खोजीमा कन्जुस्याई गरेको आक्रोश आफन्तबाट आउन नदिन मात्रै एक सातासम्म खोजीलाई निरन्तरता दिइएको हो। समितिका अनुसार निरर्थकको खोजीमा दैनिक एक लाख रुपियाँभन्दा बढी खर्च भइरहेको छ।
'एकातिर आफन्त गुमाउने र घरबारविहीन हुनेले अहिलेसम्म पुनर्स्थापना र राज्यद्वारा घोषित राहत पाउन सकेका छैनन्', समितिका सदस्य एवम् स्थानीय विकास अधिकारी ईश्वरराज पौडेल भन्छन्- अर्कोतिर हामी निरर्थक काममा दैनिक एक लाख रुपियाँ खर्च गरिरहेका छौं।
प्रशासनको सम्पूर्ण ध्यानसँगै ठूलो बजेट बेपत्ताको खोजीमा प्रयोग गर्दै आएको समिति अब यसलाई निरन्तरता नदिने पक्षमा छ। पीडित र तिनका आफन्तसँग छलफल गरि एक–दुई दिनमै यस्तो खोजी कार्य स्थगित गर्ने तयारीमा जुटेको पौडेलले जानकारी दिए। उनले खोजीलाई अर्को विकल्पमा परिवर्तन गरी पीडितको राहत र पुनर्स्थानामा ध्यान केन्द्रित गरिने बताए।

No comments:

Post a Comment