Thursday, May 31, 2012

एकमुठी कोदोले हेलिकोप्टर चार्टर

सोलुखुम्बु, जेठ १८ - सोलुखुम्बु पावैका पदमबहादुर राईलाई भालुले आक्रमण गर्‍यो। घाइते भएका राईको उपचार गाउँमा रहेको स्वास्थ्य संस्थामा गर्न नसक्ने अवस्था थियो। अन्यत्र लैजान खर्चको अभाव, तर उनलाई हेलिकोप्टर चार्टर गर्नेसम्मको सहयोग मिल्यो। यसको कारण हो उनले जम्मा गरेको एक मुठी कोदो। हेलिकोप्टरबाट काठमाडौँ लगेर उपचार गरेपछि उनी निको भएर घर फर्केका छन्।
अहिले पावै गाविसवासी अपर्झट बिरामी पर्दा खर्च अभाव हुन्छ कि भन्ने चिन्ताबाट मुक्त छन्। गाउँलेले हरेक औँसी र पूर्णिमामा दान गरेको एक/एकमुठी कोदोबाट नै उनीहरुलाई आपत्कालीन खर्च टर्ने गरेको छ। पावैका देविका बस्नेत भन्छिन,"हामी औँसी र पूर्णिमामा एक/एक मुठी कोदो जम्मा गर्छौं र मासिकरुपमा बस्ने समूहको बैठकमा लगेर जम्मा गर्छौं।" उनीहरुले जम्मा गरेको कोदो बेचेर आएको पैसा कोषमा जम्मा गर्छन्।
आपत्कालीन स्वास्थ्य कोष नाम दिएको सो कोषको रकम आपत्कालीन स्वास्थ्य समस्या परेकाहरुको उपचारमा खर्च गरिन्छ। त्यसको खर्च गर्नका लागि पनि उनीहरुले व्यवस्थापन समिति गठन गरेका छन्, नीति बनाएका छन् र सोहीअनुसार सहयोग उपलब्ध गराउँछन्। त्यस्तो सहयोग केही समयका लागि निर्ब्याजी वा न्यूनतम ब्याजमा हुन्छ।
पावैका भगवती भुजेल भन्छिन- "पन्ध्र दिनमा एक मुठी अन्न दान गर्नु सानो कुरा जस्तो लाग्छ तर यसले जान लागेको ज्यान जोगाउँदो रहेछ, पोखिएर पनि जाने अन्नबाट ठूलो काम भएको छ।" भोटीमाया नाछिरिङभगवतीको कुरामा सही थप्दै भन्छिन - "बिरामी पर्दा गाउँमा उपचार हुँदैन, अप्ठ्यारो बाटाबाट एक दिन हिँड्दा सदरमुकाम पुगिन्छ, भनेको बेलामा नुन किन्ने पैसा समेत नहुने भएकाले हजारौँ रुपैयाँ निकाल्न मुस्किल पर्छ, तर एकमुठी कोदो दान गरेको पुण्यले बिरामी पर्दा खर्च पाइन्छ। "
दान गर्ने परम्परा नेपालका प्रायः सबै जातजाति वा समुदायमा पाइन्छ। त्यही दानको संस्कृतिलाई आधार मानेर पावैवासीले कोष खडा गरेका हुन्। हरेक औंसी र पूर्णिमामा बिहान घरको दलान पोत्नासाथ अन्न दान गरिहाल्छन् उनीहरु। एक महिनामा दुईमुठी हुन्छ र त्यो बोकेर बैठकमा जान्छन्, हरेक वडामा बैठक हुन्छ। त्यो कोदो गाउँको चल्दो भाउमा बेच्छन् र जम्मा भएको पैसा आपत्कालीन स्वास्थ्य कोषमा लगेर जम्मा गर्छन्।
एकमुठी कोदोबाट जम्मा गरिएको रकम अहिले सबै पावैवासीका लागि आशाको केन्द्र बनेको छ। कुनै दुर्घटना भएमा वा आपत्कालीन समस्या आएमा खर्च कहाँबाट जुटाउने भन्ने चिन्ता छैन, किनकि हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लानुपरे पनि आपत.कालीन स्वास्थ्य कोष तयार छ। अनि त उनीहरु ढुक्क छन्। नवजागरण महिला समूह पावैका अध्यक्ष कल्पना खालिङ भन्छिन - "पहिले पैसा नहुँदा अकालमै ज्यान गुमाउनुपर्थ्यो तर एकमुठी कोदोले त्यो समस्या हटेको छ, कम्तीमा खर्चको अभाव त हुँदैन, अनि बिरामी परेमा के होला भन्ने चिन्ता नहुँदा निद्रा पनि मजाले लाग्छ।" -रासस

No comments:

Post a Comment