Thursday, May 31, 2012

विदेशी शक्तिको आडमा विघटन: कोइराला

काठमाडौ, जेष्ठ १८ - कांग्रेस सभापति सुशील कोइरालाले संविधानसभा विघटन हुनुमा विदेशी शक्तिको हात रहेको बताएका छन् । दृश्यमा माओवादी र मधेसी मोर्चाको मिलेमतो रहे पनि त्यसको पछाडि विदेशी शक्तिको हात रहेको कोइरालाको दाबी थियो ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पूर्व सभासदहरूसँगको छलफलमा कोइरालाले नामै नलिई विदेशी शक्तिका कारण संविधानसभा बचाउन नसकिएको भनाइ राखेको बैठकमा सहभागी एक पूर्वसभासदले बताए ।
'संविधानसभा विघटन गराउन विदेशी हस्तक्षेप भएको थियो,' कोइरालाको भनाइ उद्धृत गर्दैती पूर्वसभासदले कान्तिपुरसँग भने, 'नेपालका शक्तिहरूलाई जुधाएर अफगानिस्तान बनाउन खोजिँदै छ। यसलाई तपाईंहरूले बुझ्नुहोस् ।' अधिकांश सभासदहरूले कांग्रेस माओवादीको गोटी बनेका कारण स्थिति बिग्रेको बताएका थिए ।
संविधानसभा विघटन हुँदा संघीय लोकतान्त्रिक संविधान ल्याउने बाटोसमेत अवरुद्ध हुन पुगेको कोइरालाले बताए । 'हामीले यही संविधानसभाले संविधान जारी गर्नुपर्छ भनेरहरेक मुद्दामा लचिलो हुँदै गयांै, पूर्ण संविधान जारी गर्न नसकेपछि संक्षिप्त जारीगरेर बाँकी काम रूपान्तरित संसद्लाई जिम्मेवारी दिने प्रस्ताव राख्यौं, तर त्यो बाटोमा माओवादी आएन,' कोइरालाले भने, 'हठात् रूपमा संविधान विघटन गरियो । यो विघटन संघीयतामा सहमति नभएकैकारण होइन । नियोजित रूपमा बनाएको योजना रहेछ ।'
कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले बाबुराम भट्टराई नेतृत्वको सरकार निर्माण गर्दा विदेशीको हात रहेको तर संविधानसभा विघटनमात्यसबारे आफूलाई जानकारी नभएको बताए । 'सभापतिले के प्रसंगमा के भन्नुभयो, थाहा भएन,' पूर्वपरराष्ट्रमन्त्रीमहतले भने, 'बाबुरामलाई प्रधानमन्त्री बनाउँदा भने विदेशीको हात रहेको बाहिरै देखिएको कुरा हो ।'
उनले मधेसमा कांग्रेसलाई कमजोर बनाउने मधेसी मोर्चाकोस्वार्थ र प्रधानमन्त्री रहेर नै सत्ताकब्जा गर्ने माओवादीको स्वार्थका कारण संसद् विघटन भएको बताए । 'संविधानसभाको विघटन नियोजितरूपमा माओवादीको सत्ता कब्जागर्ने योजना हो, हामी सीधा सहमति गरेपछि दायाँबायाँ किनगर्ने भन्नेतिर लाग्यौं, तर माओवादी र मधेसी मोर्चाले केही समय पहिल्यै संविधानसभाविघटनको योजना बनाइसकेका रहेछन्,' महतले भने, 'संसद् रहेको भए सहमतीय आधारमा बाबुराम सरकारबाट हट्थे । त्यस्तो अवस्थामा मधेसी मोर्चाको अहिलेजस्तो सत्तामा हालीमुहाली हुन्थेन । मधेसमा कांग्रेसलाई कमजोर गर्ने मोर्चाको र सत्ताकब्जागर्ने माओवादीको स्वार्थका कारण विघटन भएको हो ।'
सभापति कोइरालाले भट्टराई नेतृत्वको सरकार निरंकुश रहेको समेत बताएका थिए । 'कांग्रेस जस्तोसुकै निरंकुशताका अघि घुँडा टेक्दैन,' कोइरालाले भने, 'बाबुराम नेतृत्वको सरकारको आयु पनि धेरै छैन ।'
यसैबीच तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गर्ने कदमविरुद्ध संघर्षका कार्यक्रमहरू चाँडै नै सार्वजनिक गर्ने बताएको छ । आन्दोलनका कार्यक्रमहरू कस्तो बनाउने भन्नेबारे छलफलभइरहेको केन्द्रीय सदस्य धनराज गुरुङले बताए ।
केन्द्रीय समितिको बैठकले माओवादीबाट निरन्तर अनेक उल्झन एवं बाधा खडा गरी सत्ताकब्जा गर्ने नियोजित उद्देश्यबाट 'हठात्' संविधानसभाको अवसान गराइएको निष्कर्ष निकालेको छ । संविधानसभा, व्यवस्थापिका संसद्, राजनीतिक सहमति र संवैधानिक प्रक्रियालाई छलेर सरकारले कपटपूर्ण ढंगलेएकलौटी गरेको निर्वाचन घोषणाले देशमा गम्भीर संवैधानिक र राजनीतिक संकट निम्ताएको भन्दै प्रधानमन्त्रीले सत्ता छाड्नै पर्ने निर्णय लिएको छ । 'अहिलेको राजनीतिक परिस्थितिमा राजनीतिक दलहरूबीच हुने राष्ट्रिय सहमतिले मात्रै संवैधानिक एवं राजनीतिक संकट समाधान हुन सक्छ भन्ने कांग्रेसको ठहर छ,' निर्णयमा भनिएको छ । बैठकले सरकारको असंवैधानिक, प्रतिगामी र निरंकुश निर्णयविरुद्ध शान्ति र लोकतन्त्रका पक्षमा देशव्यापी आन्दोलन गर्ने घोषणा पनि गरेको छ ।
बैठकमा सबै पक्षसँग छलफल गरेर कांग्रेसले अहिलेको संकटको निकास दिन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको कांग्रेस केन्द्रीय सदस्य गगन थापाले बताए ।
संवैधानिक र राजनीतिक सबै प्रकारका संघर्ष अघि बढाउन कांग्रेसले समान धारणा राख्ने सबै राजनीतिक दलहरूसँग एकताको आह्वानसमेत गरेको छ । केन्द्रीय समितिको बैठकमा आन्दोलन केमा केन्दि्रत गर्ने भन्नेबारे निकै लामो छलफल भएको थियो । छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले राष्ट्रिय सहमतिको सरकारका लागि नभएर 'निर्वाचन घोषणा गरी सत्ताकब्जा गर्ने असंवैधानिक कदम' का विरुद्ध संघर्ष गर्नुपर्ने बताएका थिए । 'यो कदम असंवैधानिक छ । यसको खारेजीका लागि आन्दोलन गर्नुपर्छ भन्ने अधिकांश सदस्यहरूको जोड छ,' गुरुङले भने ।
संविधानसभा पुनःस्थापनाको माग
भेलामा कांग्रेसका केही पूर्वसभासदहरूले निर्वाचन गराउनका लागि पनि संविधानसभाब्युँताउनुपर्ने धारणा राखेका थिए । अन्तरिम संविधानमा अर्को संविधानसभा निर्वाचनको व्यवस्था नभएको रअहिलेको घोषणाका आधारमा निर्वाचन गर्दा लाखांै युवा मतदानबाट वञ्चित हुने अवस्थारहेकाले पनि संविधानसभा ब्युँताउनुपर्ने उनीहरूको धारणा छ । यस्तो धारणा राख्नेहरूमा मोहन पाण्डे, शोभाकर पराजुली, कल्याणी रिजाल, सुप्रभा घिमिरेलगायत सदस्यहरू छन् ।
गाउँ जान निर्देशन
कोइराला र पार्टी उपसभापति रामचन्द्र पौडेलले पूर्वसभासदहरूलाई गाउँ फर्केर जनमत सिर्जना गर्न निर्देश गरेका छन् । 'षड्यन्त्र' मूलक ढंगबाट संविधानसभा विघटन गरी निर्वाचन घोषणा गरिएकोमा विरोध जनाउँदै आएको कांग्रेसले पछि सहमतिमा हुन सक्ने निर्वाचनलाई मध्यनजर राख्दै पूर्वसभासदहरूलाई गाउँमा गएर जनमत निर्माण गर्न आह्वान गरेको हो ।
प्रकाशित मिति: २०६९ जेष्ठ १८ ०९:२३

No comments:

Post a Comment