Thursday, May 31, 2012

पूर्वसभासदको आक्रोश आफ्नै नेतामाथि

काठमाडौं, जेठ १८- संविधानबिनै संविधानसभा विघटन हुनुमा आफ्नै दलका शीर्षनेतालाई जिम्मेवार ठहर्‍याउँदै पूर्वसभासदहरूले आफ्नै नेतृत्वप्रति आक्रोश पोखेका छन्। एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसकेन्द्रित दलका नेताहरूप्रति उनीहरूकै पूर्व सभासदको आक्रोश बढ्दै गएको छ।
परिवर्तित परिस्थितिबारे जानकारी दिन बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको बैठकमा पूर्व सभासदहरूले नेताको आलोचना गरेका छन्। मंगलबार पेरिसडाँडामा बसेको माओवादीको त्यस्तै बैठकमा सभासदहरूले नेताकै तिखो आलोचना गरेका थिए।
एमाले संसदीय विभागको बुधबार बैठकले शुक्रबार बल्खुमा पूर्व सभासद बैठक बोलाएको छ। संसदीय विभागका सचिव रामनाथ ढकालले भने, 'माओवादी र मधेसीदलको नेतृत्व संविधानसभा विघटन गर्न योजनाबद्ध ढंगले नै लागेको हो भन्ने हाम्रो नेतृत्वले समयमा नै त्यो विश्लेषण गर्न सकेन, यो शीर्षनेताको कमजोरी हो।'
मिलेका विषयमात्र समेटेर संविधान जारी गर्ने, राज्य पुनर्संरचनाका विषय रुपान्तरित संसद्को जिम्मा लगाउने गरी संविधान जारी गर्न जनजाति र मधेसी ककससँग सहमति भएपछि पनि संविधान निर्माण अवरुद्ध भएको उल्लेख गर्दै ढकालले भने, 'यो बु‰न नसक्नु नेतृत्वको कमी हो।' यसबारे पनि दलको बैठकमा छलफल गरिने उनले बताए।
माओवादीका पूर्व सभासद सुदर्शन बराल 'कांग्रेस-एमालेका कारण' संविधानसभा विघटन भएको विश्वास गर्छन्। राज्य पुनर्संरचनाका विषयमा विवाद हुँदै संविधान नबनेको बताउने उनले भने, 'संघीयताबारे माओवादी र मधेसी नेतृत्वले जनतालाई सही सूचना दिन सकेन', उनले भने, 'आदिवासी जनजातिलाई अधिकारसम्पन्न बनाउनु बाहुन-क्षत्रीको अधिकार खोस्नु हो भन्ने सन्देश जनतामा गयो।' उनले यसलाई चिर्न पार्टीको शीर्ष नेतृत्वले समयमै पहल नगर्नु अहिलेको असफलताको कारण हो।
आफूहरूले डेढ वर्षमै विषयगत प्रतिवेदन बुझाएको स्मरण गर्दै बरालले भने, 'नियमावलीअनुसार संवैधानिक समितिले मस्यौदा गरी संविधानसभामा पठाउनुको साटो विवाद समाधान उपसमिति बनाएर जिम्मा लगायो, यसले सभासदलाई भूमिकाविहीन बनायो।' पार्टीले आफ्ना सभासदलाई भूमिका दिन दलभित्र पनि पर्याप्त छलफल नगराएको उनको गुनासो छ।
माओवादीका अर्का पूर्व युवा सभासद राजकाजी महर्जन संघीयतामा जानबाट रोक्ने शीर्षनेतालाई दोषी ठहर्‍याउँछन्। 'तीनै दलका शीर्षनेता कोही पनि कम जिम्मेवार छैनन्', उनले भने, 'ठूलो दलका नाताले माओवादी नेतृत्वले सबैभन्दा बढी नैतिक जिम्मेवारी लिनुपर्छ।'
सभासदको कुनै पनि दोष नभए पनि आफूहरूमाथि कलंकको टीका लागेको बताउँदै महर्जनले भने, 'संविधान नबनाई विघटन हुनुमा नेताहरूको अहम्ले काम गरेको छ।' सुरुको डेढ वर्षमा नै विषयगत समितिको प्रतिवेदन बुझाएर कर्तव्य पूरा गरको स्मरण गर्दै उनले कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकापूर्व सभासद रमेश रिजाल पनि आफ्नै दलको नेतृत्वप्रति आक्रोश पोख्छन्। 'नेतृत्व दूरदर्शी हुन सकेन, राजनीतिमा हरेक कदम सोची-सम्झी गर्नुपर्थ्यो,' उनले भने, 'अक्षम नेतृत्वका कारण कांग्रेस गन्तव्यविहीन भयो।' जननिर्वाचित संस्था लोकतन्त्रको आधारभूत शक्ति भएकाले त्यसलाई विघटनको स्थितिमा पुर्‍याएर कांग्रेसले ठूलो गल्ती गरेको उनले बताए।
फोरम लोकतान्त्रिकका सभासदलाई विघटनको कारण पार्टीका नेताहरूले बुझाउन नसकेको पूर्वसभासद कौशलकुमार राय यादवले नागरिकलाई बताए। 'हामीलाई अँध्यारोमा राखेर नेताहरू मन्त्री पदका लागि सम्झौता गरे, केही पनि बताएनन्,' उनले भने, 'मुख्य विवाद के हो र अरु दलका सर्त के छन् भन्ने थाहा भएको भए दुर्घटना हुन दिन्नथ्यौं।'
पार्टीको पूर्व संसदीय दलमा एक दर्जन सभासद भेला भएर यसबारे समीक्षा गरेको उनले बताए। नेताका कारण आफूहरू बेकारमै जनताका नजरमा कालोसूचीमा परेको र राष्ट्रको ढुकुटी रित्याए पनि संविधान बनाउन नसकेकोमा उनले पश्चाताप गरे।
दुई वर्षदेखि भूमिकाविहीन सभासदले विघटन भएको मध्यरातसम्म संविधानसभा भवन कुरेर बसे, बैठकसम्म बोलाइएन। संविधानसभा अध्यक्ष र शीर्षनेताहरू संविधानसभा भवनसम्म नगएको प्रति यादवले रोष प्रकट गरे।
निर्वाचनलाई अस्वीकार गर्न नहुने बताउँदै कांग्रेसका रिजालले भने, 'निर्वाचन सत्य हो, यसलाईअंगीकार गर्नुपर्छ।' उनले आयोग बनाएर संविधानको मस्यौदा तयार पारी त्यसलाई अनुमोदन गराउने गरी संसदीय चुनाव गर्नु उचित हुने उनले बताए।
एमाले पूर्वसभासद ढकाल शुक्रबार बस्ने दलको बैठकमा संविधानसभा विघटनका लागि कुन दलको के भूमिका रह्यो भन्नेबारे पनि समीक्षा हुने बताए। संविधानको ९५ प्रतिशत काम सकिइसकेको संविधानसभाकिन र कसका कारण विघटन हुन पुग्यो भन्नेबारे पनि छलफल हुने बताउँदै उनले भने, 'चुनाव घोषणा भइसकेकोअवस्थामा जनतामा के मुद्दा लिएर जाने भन्नेबारेमा पनि छलफल हुनेछ।' मंसिर ७ को चुनाव सम्भव नहुने निष्कर्ष विभागले निकालेको पनि उनले जानकारी दिए।

No comments:

Post a Comment