Sunday, May 6, 2012

आमसभा लक्षित गरी वीरगन्जमा विष्फोट

प्रजातान्त्रिक पार्टीको को आमसभालाई लक्षित गरी वीरगन्जमा अपराह्न विष्फोट गराइएको छ । वीरगन्जको घन्टाघर अगाडि भइरहेको आमसभानजिकै करिब २ बजेको समयमा ठूलो आवाज सहित विष्फोट भएको प्रहरीले जनाएको छ ।
आवाज ठूलो भएपनि भौतिक तथा मानवीय क्षति भने भएको छैन् । विष्फोटका कारण आमसभा विथोलिएको पार्टीका केन्द्रिय कोषाध्यक्ष नुरुल हक अन्सारीले बताए । उनले भने,‘कसले, किन बिथोल्यो थाहा भएन्।’ नवगठित पार्टी भएकाले गाउँ गाउँबाट कार्यकर्ता जम्मा गरी प्रशिक्षण दिने कार्यक्रम थियो । पार्टीको यो पहिलो कार्यक्रम रहेको अन्सारीले जनाए ।
घटनास्थल निरीक्षणका लागि पुगेका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले पट्टका पड्केको दाबी गरे । एसपी अधिकारीका अनुसार विष्फोट भएको ठाउँबाट पट्टकामा बारुदबेर्ने कागज बरामद भएको छ । प्रहरीले पट्टाका बताएपनि स्थानीयले सुतली बम पड्केको दाबी गरे ।
आमसभामा उपस्थित पर्सा जिल्ला कौवाबन कटैयाका समिर अन्सारीले ३/४ जनको समूहमा रहेका युवाले पछाडि बाट प्लाष्टिकमा केही राखेर फ्याकेको बताए । ‘नजिक रहेको बाबा रामजनम तिवारीको सालिक परिसरमा प्लाष्टिक खस्यो,’ उनले भने, ‘पर्खालका कारण क्षति कम भयो ।’ आवाजसँगै धुवाँको मुस्लो माथिसम्म उडेको अर्का प्रत्यक्षदर्शी विनोद साहले बताए । व्यस्त क्षेत्रमा विष्फोट हुँदा सर्वसाधारण भयभित बनेका छन् । सुरक्षाकर्मीले चारैतर्फ सुरक्षा कडा पारेको एसपी अधिकारीले बताए ।
प्रकाशित मिति: २०६९ वैशाख २४ ०३:४६

No comments:

Post a Comment