Friday, May 11, 2012

धनगढीका विभिन्न स्थानमा झडप, १५-१६ जना घाइते

धनगढी, वैशाख २९- अखण्ड सुदूरपश्चिम माग गर्ने र त्यसो हुनुहुन्न भन्नेबीच धनगढीका विभिन्न स्थानमा झडप भएको छ। झडपमा परी १५-१६ जना घाइते भएका छन्। उनीहरुको धनगढीस्थित सेती अञ्चल अस्पताल र नवजीवन अस्पतालमा उपचार भइरहेको छ। विभिन्न स्थानबाट घाइतेहरु अस्पताल ल्याउने क्रम जारी छ।
शक्ति प्रदर्शन गर्ने होड चलेपछि बिहानैदेखि धनगढी तनावग्रस्त छ। जिल्ला विकास समितिअगाडि पार्क मोडमा जम्मा भएका थारु अखण्ड सुदूरपश्चिमवाला बसेका ट्राफिक चौराहातर्फ बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा हजारौंको भागदौड भएको छ। जुलुसभित्रै ढुङ्गासमेत प्रहार भएको छ। तर ढुङ्गा कसले हान्यो वा प्रहरीले लाठीचार्ज गरेको हो भन्ने खुलेको छैन।
दुई पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मीले ४–५ लेयर बनाएर सुरक्षा प्रदान गरिरहेका छन्। तर पनि तनाव भने जारी छ। यसैबीच प्रहरीले २ सेल अश्रुग्यास पनि प्रहार गरेको छ। उता कन्चनपुरबाट आइरहेका थारु र अखण्ड सुदूरपश्चिमवालाबीच भन्सारमा झडप भएको छ। उक्त झडपमा ५ जना घाइते भएका छन्। कैलालीकै मुढामा प्रदर्शनकारीले एक ट्रयाक्टर जलाएका छन्। जसमा ५ जना घाइते भएका छन्।
बिहानैदेखि ट्राफिक चौराहामा जमेर बसेका अखण्ड सुदूरपश्चिमवाला त्यहीँ नारा लगाइरहेका छन्। उता यही चोकमा कार्यक्रम गर्ने घोषणासहित आएका थारुले पार्क मोडमा कोणसभाको तयारी गरिरहेका थिए। तर पनि केही सहभागी भने ट्राफिक चौराहामै कार्यक्रम गर्नुपर्ने अडानमा रही त्यसतर्फ अघि बढेपछि तनाव बढेको हो। यस्तो तनावबीच सुरक्षाकर्मीले निकै सतर्क भएर कर्तव्य निर्वाहगरिरहेको छ।

No comments:

Post a Comment