Saturday, March 17, 2012

दर्जामा लचक भइदिन प्रधानमन्त्रीको आग्रह | मुख्य समाचार | ekantipur.com

काठमाडौ, चैत्र ४ - प्रधानमन्त्री बाबुराम भट्टराईले समायोजन हुने लडाकुका लागि केही माथिल्लो तहको दर्जा दिने विषयमा लचक भइदिन कांग्रेस-एमालेलाई आग्रह गरेका छन् । माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनस्र्थापनासम्बन्धी विशेष समितिको शुक्रबार नयाँ बानेश्वरस्थित कार्यालयमा बसेको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।
समिति सदस्य तथा कांग्रेस नेता मीनेन्द्र रिजालले ठ्याक्कै पद नतोके पनि प्रधानमन्त्रीलेदर्जाका विषयमा केही लचक भइदिन आग्रह गरेको जानकारी दिए । 'दर्जाका कारण सहमति हुन नसकेको जनाउँदै उहाँले केही पदमा लचक भइदिन आग्रह गर्नुभयो तर पद भने तोक्नुभएन,' उनले भने, 'हामीले सातबुँदे सहमतिअनुसारै प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दियौं ।'
सेनाको स्थापित मापदण्ड तथा सैनिक व्यक्तिको वृत्ति विकासमा बाधा नपुग्ने गरी पद निर्धारण हुनुपर्ने कांग्रेस, एमालेको अडान छ । उनीहरूले सातबुँदेअनुरूप नै प्रक्रिया अगाडि बढाए बीचमा नमिलेका विषयमा फेरि सहमति खोज्न सकिने धारणा राखेका थिए । बैठकमा खासगरी प्रधानमन्त्रीले मंगलबारकै बैठकमा पेस गरेको सेनाबाट तयार पारिएको प्रस्तावमाथि छलफल भएको नेता भीम रावलले जानकारी दिए ।
सेनाको प्रस्तावमा समेटिएका कतिपय विषय सातबुँदेविपरीत भएकाले त्यसलाई संशोधन गर्नुपर्ने नेता रावलले बताए । कांग्रेस, एमालेले सेनाको प्रस्तावमा भएको बेग्लै गठन आदेशबाट महानिर्देशनालयको स्थापना, उमेर हदको घटीबढी, तालिम छोट्याइएको जस्ता विषय सातबुँदे विपरीत भएको बताएका छन् । 'छलफल सकारात्मक नै छ, ठोस निष्कर्षमा भने पुगिएको छैन,' कांग्रेस नेता रामशरण महतले भने ।
प्रकाशित मिति: २०६८ चैत्र ४ १२:१

No comments:

Post a Comment