पर्सा (वीरगन्ज), भदौ १६- काठमाडौंबाट अपहरणमा परेका दुई स्कुले छात्रालाई हिजो रक्सौलबाट उद्धार गरिएको छ। काठमाडौंको चावेल कपनस्थित चाहना इङ्गलिस उच्च माविमा आठ कक्षामा अध्ययनरत छात्राहरु कपन-३ की १४ वर्षीया कञ्चन रेग्मी र कालोपुलकी १५ वर्षीया कविता रम्तेलको राति उद्धार गरिएको हो। पर्सा प्रहरीले रक्सौल प्रहरीसँग समन्वय गरी उनीहरुलाई वीरगन्ज ल्याइएको छ।
बिहीबार साँझ ४ बजे विद्यालयबाट घर फर्कंदै गर्दा विद्यालयअगाडि नै मुखमा मास्क लगाएकी एक अपरिचित महिलाले आँखा तर्दै तिमीहरु कहाँ हिँडेकी भन्दै गालामा छोएको र त्यसपछि एकै पटक हिजो बिहान होस खुलेको अपहरित छात्राहरुले बताएका छन् ।
होस खुलेपछि भागेर त्यहाँबाट करिब चार किमी पश्चिम पुगेको र त्यहाँ एक परिवारले बास दिएको उनीहरुले बताए। त्यहाँबाट उनीहरुकै नेपाली सिम प्रयोग गरेर मोबाइलबाट आ-आफ्नो घरमा फोन गरेको अपहरित बालिकाले बताए। त्यसपछि भारतीय प्रहरीलेउनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोहर भट्टले भारतीय प्रहरीले सूचना दिएपछि आफूले दुवै किशोरीलाई जिम्मा लिएर ल्याएको बताए । दुवैका आफन्त उनीहरुलाई बुझ्न वीरगन्ज आइपुगेका छन्। रासस
No comments:
Post a Comment