Sunday, July 1, 2012

अवरुद्ध भएकै विन्दुबाट सहमतिको प्रयास गरिनुपर्ने राष्ट्रपतिलाई दाहालको सुझाव

काठमाडौं, असार १७- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण जुन विन्दुबाट अवरुद्ध भएको हो, त्यहीँबाट सुरु गरेर सहमतिको प्रयास गरिनुपर्ने राष्ट्रपति रामवरण यादवलाई जानकारी गराएका छन्। उनले वर्तमान राजनीतिक सङ्कटको निकास खोज्न आफ्नो पार्टी तयार रहेकोसमेत जानकारी गराए।
आइतबार राष्ट्रपति निवासमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आम सहमति निर्माणको प्रयास भइरहेको र त्यसका लागि आफूले पहल गरिरहेको राष्ट्रपतिलाई जानकारी गराएको बताए।
उनले भने, 'संविधान निर्माणमा देखिएका सबै विवाद एकमुष्ट हल हुने हो भने प्रधानमन्त्री बाबुराम भट्टराईले मार्ग प्रशस्त गर्नुहुन्छ र उहाँले राजीनामा पनि गर्नुहुन्छ। तरएकमुष्ट सहमति भने राजनीतिक दलहरूबीच हुनुपर्छ।'
सहमतिको लागि अधिकतम प्रयास गरिरहेको र आफ्नो तर्फबाट के गर्नुपर्ने हो त्यसका लागि समेत आफू र आफ्नो पार्टी तयार रहेको अध्यक्ष दाहालको भनाइ थियो।
भेटमा आर्थिक वर्ष २०६९/७० को बजेट पनि सहमतिमै ल्याइनुपर्दछ भन्नेमा आफूले जोड दिएको पनि उनले जानकारी दिए।
करिब ४५ मिनेट भएको भेटवार्तामा अध्यक्ष दाहालले समग्र संविधान निर्माण प्रक्रिया, दलहरूबीचभइरहेको छलफललगायतका समसामयिक विषयमा कुरा राखेकाथिए। सहमति भयो भने आफ्नो पार्टी जस्तोसुकै त्याग गर्नसमेत तयार रहेको र त्यसका लागि राजनीतिक दलहरू सहमतिमाआउनुपर्ने बताउँदै उनले अहिलेसम्म देखिएका विवादित विषयमा प्याकेजमा नै सहमति खोज्न पहल गर्न नेपाली कांग्रेस र नेकपा(एमाले) लगायतका दलहरूलाई आग्रह गरे।रासस

No comments:

Post a Comment