Tuesday, July 10, 2012

पूर्वराजाले जोरी खोजे उनको पैतृक सम्पत्ति सिज' हुनसक्छः पोखरेल |

महेन्द्रनगर, असार २६ - एमाले सचिव शंकर पोखरेलले पूर्व राजा ज्ञानेन्द्रलाई जोरी खोज्दै नहिंडन चेतावनी दिएका छन् । उनले पूर्वराजाले एउटा नागरिक सरह गरिरहेको घुमफिरलाई आवश्यकता भन्दा बढि प्रचार-प्रसार गरिएको बताए ।
उनले यसप्रकारको प्रचारप्रसार हुनुलाई प्रायोजित गतिविधि भएको बताए । 'जोरी खोजे उनको पैतृक सम्पत्ति पनि 'सिज' गर्नु पर्ने अवस्था आउन सक्छ' मंगलबार महेन्द्रनगरमा पत्रकारहरु सँगको भटमा नेता पोखरेलले भने, 'वर्तमान राजनैतिक जागरणको अवस्थामा परम्परागत राजतन्त्र पुनस्र्थापना हुने कुरा कुनै अवस्थामा पनि सम्भव छैन ।'
उनले जनताको आकांक्षाको व्यवस्थापन गर्ने बाटो राजसंस्थाको पुनस्र्थापना हुन नसक्ने ठोकुवा गरे । 'प्रधानमन्त्री भट्टराई कै कारण नागरिक बनिसकेका राजा पनि जुर्मुराउन थालेका' उनले आरोप लगाए ।
माओवादी नेतृत्वको वर्तमान सरकारले जेठ १४ मध्यरातमा सम्विधानसभा बिघटन गरि सम्विधान निर्माण र शान्तिप्रकृया बिरुध्द सुनियोजित षडयन्त्र गरेको नेता पोखरेलले आरोप लगाए । 'सम्विधानसभाको चुनाव गराउने व्यवस्था अन्तरिम सम्विधानमा छैन', उनले भने, 'संवैधानिक र राजनैतिक संकटको एकमात्र दोषि र मोहरा माओवादी नेतृत्वको सरकार नै हो ।' उनले वर्तमान राजनैतिक संकटका पछाडी प्रधानमन्त्री भट्टराइ नै एकमात्र कारण भएको आरोप लगाए ।
नेता पोखरेलले संविधानसभा बिघटन गरिएको अवस्थामा वर्तमान काम चलाउ सरकारको लामो समय घातक हुने बताए । 'संवैधानिक अंगहरु सवै खाली हुँदैछन्, उनले भने, 'अख्तियार पुरै खाली हुँदैछ, निर्वाचन आयुक्तहरुको पदावधी सकिदैंछ । न्यायप्रणाली भित्र न्यायाधिशहरुको म्याद सकिदैंछ । पोखरेलले भने, 'लोकतन्त्रका सबै सन्तुलनकारी अवयवहरु रिक्त हुन लागेको यस्तो अवस्थामा वर्तमान सरकारबाट देशलाई हिंडउने काम भइरहेकोछ ।'
उनले सम्वैधानिक गतिरोध अन्त्य गर्न कामचलाउ सरकारलाइ बिदा गरी सहमतिको नयाँ सरकार ल्याउनु पर्ने बताए । पोखरेलले एमालेले कांगे्रसबाट नया सरकारको नेतृत्वका लागि बिकल्प दिन माग गरेको बताए । 'कांग्रेसले विकल्प दिदैंन भने एमाले तत्क्षण विकल्प दिन तयार छ' उनले भने ।
सरकारले एकलौटी ढंगले बजेट ल्याउछु भन्नु उसको अहंकार मात्र भएको उल्लेख गर्दै नेता पोखरेलले सहमति बाट केही आंशिक खर्च रकमको बजेट ल्याउन सकिने बताए । 'भट्टराई नेतृत्वको सरकारलाई बजेट ल्याउने अधिकार छैन' उनले भने ।
नेता पोखरेलले अधिकांस जनजाति नेताहरु पार्टी कै गतिविधिमा संलग्न रहेको बताउँदै केहिले उठाउदै आएको एकल पहिचानको जातिय राज्यको सवालमा पार्टी वहस गर्न तयार रहेको बताए ।
पार्टीको महाकाली अञ्चल स्तरिय प्रशिक्षण कार्यक्रमका लागि नेता पोखरेल महेन्द्रनगर आएकाहुन ।

No comments:

Post a Comment