Tuesday, July 3, 2012

माओवादी सत्ता कुहिएको फर्सी : कांग्रेस

काठमाडौं, असार १९- कांग्रेस नेताहरूले ‘माओवादी सत्ता कुहिएको फर्सी' जस्तो भएकाले चाँडै झर्ने' रकांग्रेसको सरकार बन्ने टिप्पणी गरेका छन्।उनीहरुले संविधानसभा भंग हुनुमा माओवादी र मधेसी मोर्चाको गठबन्धन सरकार दोषी रहेको भन्दै नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नुपर्ने बताए।
‘माओवादी सत्तामोह कुहिसकेको फर्सी हो, जुन छानाबाट खस्नमात्र बाँकी छ,' पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्तीका अवसरमा काठमाडौं कांग्रेसद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘नेपाली कांग्रेसले राजनीतिक निकासको स्पष्ट बाटो देखाउनासाथ कांग्रेसको नेतृत्वमा सरकार बन्छ।'
‘संविधानसभाको अवसान र शान्ति प्रक्रियाको भावी कार्यदिशा' विषयक गोष्ठीका प्रमुख अतिथि कांग्रेस सभापति सुशील कोइरालाले एकलौटी ढंगले चुनाव घोषणा गरेर माओवादीले अलोकतान्त्रिक काम गरेको आरोप लगाए। ‘सहमतिबिना चुनाव घोषणा भइसकेको कामचलाउ सरकारले अध्यादेशमार्फत ल्याउन खोजेको पूर्ण बजेट कुनै हालतमा स्विकार्य हुँदैन,' कोइरालाले भने, ‘प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पद छाड्नुपर्छ।'
सहमति नभए मुलुक दुर्घटनामा फसेर अस्तित्व नरहने र अफगानिस्तानको हालत हुनसक्ने भन्दै सभापति कोइरालाले माओवादीले विगतमा भएका सम्झौता कार्यान्वयन नगरेर धोका मात्रै दिएका कारण संवैधानिक र राजनीतिक संकट आएको बताए।
महामन्त्री प्रकाशमान सिंहले माओवादी मोर्चाको कारण परिणामविहीन भएर संविधानसभाको अवसान भएको र प्रधानमन्त्री भट्टराईको अलोकतान्त्रिक कदमका कारण संवैधानिक संकट आएको बताए। ‘नैतिकताका आधारमा बाबुराम भट्टराईले प्रधानमन्त्रीको कुर्सीमा बस्न मिल्दैन, राष्ट्रिय सहमतिको सरकार गठन गर्न मार्गप्रशस्तगर्नुपर्छ,' सिंहले भने। केन्द्रीय सदस्य नरहरि आचार्यले देशभरि जागरण ल्याउन पहिले पार्टीमै जागरणको खाँचो औंल्याएका थिए।
गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताको माध्यमबाट शान्ति प्रक्रियाअघि बढाउन खेलेको भूमिकाको नेताहरुले प्रशंसा गरेका थिए। (रासस)

No comments:

Post a Comment