Thursday, June 27, 2013

म त स्वस्थ भएँ, देशको स्वास्थ्यबारे चिन्ता छ : राष्ट्रपति यादव

१२ असार, टोक्यो । राष्ट्रपति डा. रामबरण यादवले आफु पूर्णरुपमा स्वस्थ्य
भएको बताउनुभएको छ । जापानको टोक्योमा गैरआवासीय नेपाली संघ
जापानलेआयोजना गरेको दिवाभोजमा सहभागी राष्ट्रपतिले भन्नुभयो-'तपाईहरु
ढुक्क हुनुहोस्, म पूर्णरुपमा स्वस्थ्य छु, बरु देशको स्वास्थ्यका बारेमा
चिन्ता छ ।'
मुलुक प्राकृतिक स्रोत साधनमा धनी भए पनि राजनीतिक शक्तिहरुको कमजोरीले
नै मुलुकमा राम्रो सिष्टम बनाउन नसकिएको र नेपालीहरुले रोजगारीका लागि
मुलुक छाड्नुपरेको यादवको भनाइ थियो ।
चाँडै निको होस् भन्ने चाहेरै आफू हतार-हतार जापान आएको प्रष्ट्याउँदै
डा. यादवले भन्नुभयो-'तीन करोड नेपालीको शुभेच्छाले म पूर्णरुपमा निको
भएको रिपोर्ट आयो ।'
दिवाभोजमा करिव १५ मिनेट बोल्नुभएका राष्ट्रपतिले विदेशमा बसोबास गर्ने
नेपालीले आर्जन गरेको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिइरहेको स्मरण
गर्नुभयो । 'आफूले कमाएको दुई-चार पैसा बचाउनुस् र मुलुकमा लगेर आफ्नो
पूँजी र सीप लगाउनुस्, त्यसले देशमै रोजगारी सिर्जना हुन्छ'-
राष्ट्रपतिले भन्नुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका नेता डा रामशरण महत, जापानका लागि नेपाली
राजदूत डा. मदनकुमार भट्टराई लगायतले जापानको नेपाली समुदाय र गैरआवासीय
नेपाली अभियानमा यहाँका नेपालीको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
राष्ट्रपति यादव बिहीबार अपरान्ह टोक्योबाट स्वदेश प्रस्थान गर्नुभएको र
भोलि शुक्रबार काठमाण्डौ पुग्ने बताइएको छ ।

No comments:

Post a Comment