काठमाडौँ, चैत २३ (नागरिक) - उत्तर र दक्षिण कोरियाबीच बढ्दो तनावका बीच
दक्षिण कोरियामा रहेका नेपाली समुदाय चिन्तित भइरहेको परिस्थितिमा
त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै हाललाई 'युद्ध
भइहाल्नेसम्मको अवस्थामा पुगेको नदेखिएको' भन्दै कुनै भय लिन जरुरी नभएको
बताएको छ। 'सम्भाव्य युद्धका चेतावनीयुक्त भाषाहरु सम्प्रेषण भइरहेको र
केही सञ्चार माध्यमले स्थितिलाई जटिल हिसाबले मूल्याङ्कन गरी प्रस्तुत
गरिरहेको भए पनि', दूतावासको विज्ञप्तिमा भनिएको छ, 'प्राप्त अन्य विशेष
सूचनाहरुलाई समेत आधार मानी अध्ययन गर्दा युद्ध भइहाल्नेसम्मको अवस्थामा
पुगेको देखिँदैन।'
दूतावासले विशेष सूचनाको आधार भने खुलाएको छैन। नेपाली राजदूतावासले
वर्तमान अवस्थाको अवलोकन तथा अध्ययनसमेत गरिरहेकोले परिस्थितिको जटिलता
हेरी नेपाली समुदायलाई सूचित गर्ने जानकारी पनि विज्ञप्तिमा दिइएको छ।
'दक्षिण कोरियाका नागरिकहरुमा युद्धको कुनै भय वा त्राससमेत नदेखिएको,
नागरिकहरुको दैनिक जनजीवन सदा झैँ सामान्य अवस्थामा चलिरहेको अवस्था
समेतलाई विचार गर्दा कोरियामा रहेका नेपाली समुदायले कुनै प्रकारको भय
लिन पर्ने स्थिति रहेको देखिँदैन', विज्ञप्तिमा भनिएको छ।
No comments:
Post a Comment