Thursday, March 28, 2013

घिउ र तेलमा यसरी भइरहेको छ ठगी

काठमाडौं, चैत १५ (नागरिक) - उत्पादकले खाने तेल र घिउका प्याकेट एवं
बोतलको आकार घटाएर उपभोक्ता ठगी गर्ने गरेको भेटिएको छ। वाणिज्य विभागले
गरेको बजार अनुगमनका क्रममा उत्पादक आफैंले तोकेको मात्रामा तेल वा घिउ
नअट्ने गरी प्याकेट र बोतल बनाउने गरेको भेटिएको हो।
'बजारमा एक लिटर भनेर बेच्ने गरेको पाउचमा त्योभन्दा कम हुने गरेको
भेटियो,' विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भने, 'यसरी कम
मात्रा राख्न आकार घटाएको पाइएको छ।'
कतिपय उत्पादकले भने प्याकेट र बोतलको आकार घटाएर परिमाण खुलाउने गरेका
छन्। तर, परिमाण खुलाउन गरिएको प्रिन्ट भने नबुझिने बनाउने गरेको पाइएको
बिडारीले जानकारी दिए। 'सामान्यतया उपभोक्ताले परिमाणनहेरी बोतल वा
प्याकेट हेरेर किन्छन्,' उनले भने, 'पसलेले ९ सय मिलिलिटरलाई पनि एक लिटर
भनेर बेचिदिन्छन्।'
अधिकांश उत्पादकले प्याकेट र बोतलको आकार घटाएर उपभोक्तालाईठगेको पत्ता
लागेपछि विभागले घिउ-तेल प्याक गर्न बोतल र प्याकेटको आकार तोकेको छ।
विभागले सूचना निकालेर उत्पादकले अबदेखि खाने तेल र घिउको प्याकेट
बनाउँदा १ हजार, ५सय र २ सय मिलिलिटरका मात्र बनाउन पाउने जनाएको छ।
यसैगरी बोतल वा बट्टा बनाउँदा भने ५ लिटर, २ लिटर, १ लिटर र ५ सय
मिलिलिटरमात्र बनाउनुपर्नेछ। तोकिएको आकारमा प्याकेट वा बोतल र बट्टा
नबनाउने उत्पादकलाई उपभोक्ता संरक्षण ऐन-२०५४ अनुसार कारबाही गर्ने
विभागले जनाएको छ।
उत्पादकले प्याकेट र बोतलको आकार घटाएर उपभोक्तालाई ठगी गरेको भेटिएपछि
विभागले सोमबारउत्पादकहरुसँग छलफल गरेको थियो।
उत्पादक, उद्योग विभागलगायत सरोकारवालासँग छलफल गरेपछि विभागले बुधबार
सूचना जारी गरेको हो। 'उत्पादकहरुको सहमतिमा नै हामीले सूचना जारी गरेका
हौं,' बिडारीले भने, 'यो नियम तत्काल कार्यान्वयन हुन्छ, कार्यान्वयन
नगर्नेलाई कारबाही हुन्छ।'
यसअघि घिउ र तेल उत्पादकले गुणस्तर कम गरेर ठगी गरेका घटना सार्वजनिक
भएका थिए। आकार नै घटाएर ठगी गर्ने नौलो तरिका अपनाउन थालेपछि विभागले
उत्पादकलाई समेत बोलाएर नयाँ नियम लगाएको हो। 'यस्ता गतिविधिले उपभोक्ता
झुक्किन्छन्,' बिडारीले भने, 'उपभोक्तालाई झुक्याउनु भनेको सरासर ठगी
गर्नु हो।'
प्रतिक्रियाहरू (0

No comments:

Post a Comment