Monday, January 14, 2013

नुवाकोटमा गोरुभन्दा पहिले नेता जुधे

नुवाकोटको तारुकामा यसवर्ष माघे संक्रान्तिमा गोरु जुध्नुअघि नै नेताहरु
जुधेका छन् । सहमतीय सरकार गठनबारे केन्द्रमा नेताहरु हानथाप गरेजस्तै
गोरु जुधाउने प्रतियोगिताको आयोजक समितिमा अध्यक्ष बन्ने होडमा स्थानीय
नेताहरुबीच घम्साघम्सी भएको हो । गोरुले जस्तै टाउको जुधाएर भीडन्त भएको
त होइन । तर गोरु जुध्ने शैलीमा जुधेर नेताहरुले गोरुमा समेत राजनीति गरे
भनेर गाउँलेहरुले आलोचना गरेका छन् । नेताहरुबीच ठाउँको कुरा नमिलेर
विवाद भएपछि गोरु जुधाईमा नै भागबण्डा भएको छ ।
हरेक वर्षको माघे संक्रान्तिमा जस्तै यसवर्ष पनि गोरु जुधाई
प्रतियोगिताको लागि पहिलेदेखि नै तयारी शुरु भएको हो । सोमबार देशका अरु
ठाउँबाट समेत गोरु जुधेको हेर्न मान्छे पुग्ने भएकाले तयारी त्यसै अनुसार
गर्ने योजना थियो । स्थानीयस्तरमा हुने गोरु जुधाईमा स्थानीय राजनीतिक
दलको पनि चासो र हस्तक्षेप हुने नै भयो । त्यसअनुसार एकीकृत माओवादी,
कांग्रेस, एमाले लगायतका गाउँमा उपस्थिति रहेका सबै राजनीतिक दलले
कार्यक्रममा चासो देखाए ।
फलस्वरुप आयोजक समितिको अध्यक्ष बन्न तीनवटै दलका नेताहरुले दावी गरे ।
कुनै एकजनालाई अध्यक्ष बनाउने विषयमा सहमति जुट्न सकेन । एकीकृत माओवादी
र नेपाली कांग्रेस एकातिर तथा एमाले अर्कोतिर बाँडिए ।
पोहोरपरार गोरु जुधाउने ठाउँमा भन्दा अर्कै चन्दनी भन्ने ठाउँमा एकीकृत
माओवादी र कांग्रेसको आयोजनामा तथा ठूलोपोखरीमा एमालेको आयोजनामा गोरु
जुधाउने कार्यक्रम हुन लागेको छ ।
गोरु जुधेको हेर्न जान लागेकाहरु लौ गोरुभन्दा पहिले नै नेताहरु जुधे रे
भनेर ठट्टा गर्दै दुवै ठाउँमा जम्मा भएका छन् ।
तीन ठाउँमा २५ हल गोरुको भीडन्त
गोरु जुधाईमा चर्चित हुँदै आएको नुवाकोटको तारुका र बेत्रावतीमा यसवर्ष
२५ हल गोरुको भीडन्त हुँदैछ । तारुकाको चन्दनीमा १२ हल, ठूलोपोखरीम ८ हल
र बेत्रावतीमा ५ हल गोरु जुधाउन लागिएको हो । भीडन्तमा उत्कृष्ट ठहरिने
गोरुलाई माघको दोस्रो हप्ता राजधानी ल्याएर प्रतिष्पर्धा गराउने
कार्यक्रम छ ।
गोरु जुधाई कार्यक्रम हेर्न नुवाकोटका बिभिन्न गाउँसगै आसपासका ठाउँ र
राजधानीबाट समेत अवलोकनकर्ता तारुका र बेत्रावती पुगेका छन् ।

No comments:

Post a Comment