Wednesday, January 9, 2013

साढे दुई लाख भाडा दिएर आफ्नै श्रीमान्‌को हत्या !

२५ पुस, काठमाण्डौं । मुलुकभर महिला हिंसाविरुद्धको आवाज उठिरहेका बेला
राजधानीमा एक महिलाले प्रेमीसित मिलेर आफ्नैपतिको हत्या गराएकी छन् ।
'कन्ट्रयाक्ट किलर' अर्थात भाडाका हत्यारालाई साढे दुई लाख रुपियाँको
सुपारी दिएर उनले पतिको हत्या गराएको रहस्य खुलेको छ ।
कन्ट्रयाक्ट किलरमार्फत हत्यामा संलग्न संखुवासभा मकालु–५ की २८ वर्षीया
याङ्जी शेर्पा र संखुवासभा याफु–९ का २५ वर्षीय पासाङनिम्बा शेर्पालाई
प्रहरीले पक्राउ गरेको छ । उनीहरूले दुईजना हत्यारा भाडामा लिएर
संखुवासभा, मकालु–५ का २९ वर्षीय फुदोर्जी शेर्पाको हत्या गरेका हुन् ।
फुदोर्जीको २२ पुस राति ११:२० बजे चपली भद्रकाली–८ स्थित उनकै
निर्माणाधीन घरनजिकैको छाप्रोमा हत्या गरिएको थियो । पेपर कटरले घाँटी
रेटी हत्या गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
हत्यामा संलग्न 'कन्ट्रयाक्ट किलर'सोलुखुम्बु देउसा–२ का २७ वर्षीय
नीरकुमार कार्की र सोलुखुम्बु छेस्कान–२ का २६ वर्षीय फुर्तेन्जी शेर्पा
हुन् । फुदोर्जीको हत्याका लागि उनीहरूले घटनाका योजनाकार पासाङबाट जनही
एक लाख २५ हजार रुपियाँ लिएका थिए । हत्यापश्चात् उनीहरूले मृत शरीरलाई
कम्बलले बेरी ढल जम्मा हुने खाडलभित्र फालेको सौर्यसहितका आजका विभिन्न
पत्रिकामा खबर छ ।
'लगानी' प्रेमीको
२०५८ सालमै फुदोर्जीसँग प्रेमविवाह गरेकी याङ्जीको दुई वर्षअघि पासाङसँग
चिनजान भएको थियो । ट्रेकिङ व्यवसायमा संलग्न फुदोर्जी काममा गएका बेला
याङ्जीको भेट पासाङसँग बाक्लिन थाल्यो । बेला–बेलामा 'गिफ्ट'सहित उपस्थित
हुने पासाङलाई याङ्जीको मन जित्न समय लागेन । फुदोर्जी नभएका बेला कोठामा
नै आएर उनले याङ्जीसित शारीरिक सम्बन्ध राख्न थाले । याङ्जी पनि
श्रीमान्भन्दा पासाङसँगकोसम्बन्धमा रमाउन थालिन् ।
सामान्य विषयमा पनि निहुँ खोज्न लागेपछि फुदोर्जीले श्रीमतीप्रति शंका
गरे । पछि पत्ता लाग्यो, परपुरुषसित श्रीमतीको लसपस । बुझ्दै जाँदा
दुईबीच शारीरिक सम्बन्ध नै रहेको उनले थाहा पाए । फुदोर्जीले श्रीमतीलाई
सम्झाए । पासाङको नियत ठीक नभएको देखेपछि उनले कपन प्रहरीमा उजुरीसमेत
दिए । घटनामा पासाङको दोष देखिएपछि कपन प्रहरीले फुदोर्जीलाई एक लाख
रुपियाँ क्षतिपूर्ति दिलाएर मिलापत्र गरायो ।
तर, पासाङ यसबाट चेतेनन् । फुदोर्जी ट्रेकिङ गएका बेला दैनिक याङ्जीको
कोठामा जान लागे र शारीरिक सम्बन्ध पनि नियमितजसो नै हुन थाल्यो ।
यद्यपि, उनी याङ्जीलाई सधैँका लागि आफ्नो बनाउन चाहन्थे । अन्तत:
फुदोर्जीको हत्याबाहेक अन्य विकल्प उनले देखेनन् ।
२२ पुसको बेलुका फुदोर्जी श्रीमती याङ्जीसँगनिर्माणाधीन घरनजिकैको
छाप्रोमा सुतिरहेका थिए । रातको करिब १० बजे श्रीमान् सुतिसकेको थाहा
पाएपछि याङ्जीले श्रीमान्कै मोबाइलबाट पासाङलाई मिस कल गरिन् । आफू भने
नजिकै रहेको डेरामा सुत्न गइन् । पासाङले मिसकलको अर्थ बुझे ।
'कन्ट्रयाक्ट किलर' उनीसँगै थिए । दुवैलाई लिएर उनले बाटोकै एक भट्टीमा
रक्सी पिए । नशामा रहेका उनीहरूले पसलबाट पेपरकटर किने । सेटिङअनुसार
तीनैजना घटनास्थल पुगे । फुदोर्जी मस्त निद्रामा थिए । त्यही मौकामा
नीरकुमारले उनको खुट्टा समाते । फुर्तेन्जीले घाँटी अठ्याए । चिच्याउन
लागेपछि तीनैजना डराए । मुख थुन्दा पनि नभएपछि फुर्तेन्जीले पेपर कटर
झिके र उनको घाँटीको अघिल्लो भागबाट रेट्न थाले । छट्पटाएपछि पेपर कटर
चिप्लियो र फुर्तेन्जीको हात पनि काट्न भ्यायो । आक्रोशित फुर्तेन्जीले
पेपर कटर अझ तेज पारे । रगतको सिर्का हान्दै शरीरबाट प्राण उड्यो । मृत
शरीरलाई कम्बलमा पोको पारी नजिकैको खाल्डोमा डम्प गरे । तीनैजना गेस्ट
हाउसमा सुत्न गए ।
यसरी समातिए अभियुक्त
निर्माणाधीन घरनजिकको खाल्डोमा घाँटी रेटिएको अवस्थामा भेटिएको शव पहिचान
भएलगत्तै प्रहरी टोली श्रीमती याङ्जीलाई भेट्न पुग्यो । श्रीमान् मर्दाको
वियोग उनको अनुहारमा देखिँदैनथ्यो । प्रहरीले उनीमाथि नै शंका गर्‍यो ।
पत्ता लाग्यो, उनको एक ब्वाइफ्रेन्ड पनि छ । खोजी गर्दै जाँदा उनको
ब्वाइफ्रेन्ड पासाङ रहेको खुल्यो । उनीहरूबीच दुई वर्षदेखि शारीरिक
सम्बन्ध रहँदै आएको, फुदोर्जी र पासाङबीचको विवाद प्रहरीसम्म पुगेकोलगायत
रहस्य खुल्यो ।
पासाङलाई पक्राउ गरियो । उनीसँगको अनुसन्धानबाट हत्याको उद्देश्य खुल्यो
। हत्यामा संलग्न अन्य दुईसहित सुपारीबापत लिएको रकम पनि बरामद भएको छ ।
एसएसपी देवेन्द्र सुवेदीका अनुसार श्रीमती नै श्रीमान्को 'कन्ट्रयाक्ट
किलिङ' मा सहभागी भएको यो पहिलो घटना हो । उनले भने, 'कन्ट्रयाक्ट
किलरबाट फुदोर्जीको घाँटी रेटेर हत्या गरेको देखिन्छ, यो घटना नेपालमा
पनि सुपारी लिएर व्यक्ति हत्या गर्ने ट्रेन्ड विकास भएको एउटा प्रमाण हो,
यसो हुनु दुर्भाग्यपूर्ण छ ।'

No comments:

Post a Comment