Monday, October 22, 2012

१०४ कामदार बिचल्लीमा

दोहा, कार्तिक ६ - निर्माण क्षेत्रमा कार्यरत १ सय ४ नेपाली कामदार
कतारबाट स्वदेश फर्कन वञ्चित भएका छन् । उनीहरुलाई कम्पनीले एक महिनादेखि
खाना दिनसमेत बन्द गरेको छ ।
कतारको पिसिएसआई स्पेशल टाइस कम्पनीमा कार्यरत उनीहरूले गत सेटेम्बर २५
बाट घर पठाउन माग गर्दै काम बन्द गरेपछि कम्पनीले स्वदेश नपठाई बन्द
गरेको हो । उनीहरुले स्वदेश फिर्तीका लागि यहाको श्रम अदालतमा मुद्दासमेत
दायर गरेका छन् ।
कम्पनीले अधिकांश कामदारको परिचयपत्र नबनाइदिएको, तलब रोक्दै आएको र घर
जाने समय भएकालाई पनि महिनौसम्म नपठाई कोठामै राख्ने गरेकाले काम बन्द
गरेको अर्घाखाँचीका टुकबहादुर दर्जीले बताए । पीडित कामदारलाई नेपाली
दुतावासले खाना खुवाइरहेको छ ।
पीडितहरूलाई उद्धार गर्न चरणबद्ध रुपमा कम्पनीका अधिकारीहरुसँग पहल
भइरहेको नेपाली राजदुत मायाकुमारी शर्माले बताइन् । उनले पीडितलाई खानाका
लागि बञ्चित हुन नदिन दुताबासले व्यवस्था मिलाउँदै आएको बताइन् ।
पीडितलाई यहाको नयाँ परिवार एसोसियनले पनि केही दिनलाई पुग्ने खाना
उपलब्ध गराएको छ ।
पीडितहरूले छिटो भन्दा छिटो घर जान आतुर भएको बताए । उनीहरूले समस्या
समाधान गर्न कम्पनीका मुख्य अधिकारीहरुलाई पटकपटक दुताबास लगे पनि मिल्न
सकेन ।
श्रम सहचारी इन्द्रदेव पाण्डेका अनुसार दुबै पक्षलाई राखेर समस्या समाधान
गर्न गरेको पहल सफल हुन सकेको छैन । तीन साताअघि सबै कामदारलाई स्वदेश
पठाउन यहाँको डिपोटेशन सेन्टरमा लगिएको थियो । उनीहरुलाई एक रात राखेर
फेरी क्याम्पमै फर्काएको हो । कामदारहरुले आफुहरुसँग परिचयपत्र नभएकाले
जतिखेर पनि प्रक्राउ पर्ने डरले क्याम्मबाट बाहिर निस्किएका छैनन् ।
लाहानका ओशो अहमदले चाडपर्बका समयमा आफुहरु बिचल्लीमा परेकाले निकै
तनाबमा रहेको बताए । दुताबासले आउने २८ अक्टोबरमा २५ जनाको टोली पठाउने
तयारी गरेको जनाएको छ । यहा कार्यरत कामदारको न्युनत तलब ६ सय रियाल हो ।
यहा आउने अधिकास कामदार ट्यालेन्ट सर्भिस म्यानपावरले पठाएका हुन् । दुई
महिनाअघि मात्रै ६० हजार खर्चेर आएका सर्लाहीका जितेन हजारीले आएदेखि एक
पैसा पनि नपाएकाले आफुहरु निकै तनाब परेको बताए ।
फिर्ती केन्द्रमा ७ सय
चाडपर्बको मौकामा घर जान खोजेर आफैंलाई गिरफ्तार गराएका झन्डै ७ सय
नेपाली फिर्ती केन्द्रको जेलमा छन् ।
राजदुत शर्माका अनुसार गैरकानुनी हैसियतमा रहेका ७ सयभन्दा बढी नेपाली
घरजाने प्रतिक्षामा छन् । टिकट अभाबमा उनीहरु समयमा र्फकन पाएनन् ।
दशै र तिहारमा टिकटको अभाब छ । घर फिर्ने एकतर्फी टिकटका लागि २ हजार
रियालसम्म लाग्छ । जेलमा बसेकाले त्यति महँगो टिकट लिन सकेका छैनन् ।
प्रकाशित मिति: २०६९ कार्तिक ६ १२:२४

No comments:

Post a Comment