Wednesday, September 12, 2012

सिडिओ नै सुँगुर धपाउन थालेपछि

२७ भदौ, काठमाण्डौं । सप्तरीका सिडिओ हरिराज पन्त नगरपालिकाका सडकमा छाडा
छाडिएका सुँगुर धपाउने काममा लागेका छन् । पन्त मंगलबारबाट छाडा सुँगुर
नियन्त्रण अभियानमा लागेका हुन् ।
छाडा सुँगुरका कारण नगर दुर्गन्धित भएको गुनासो आए पनि राजविराज
नगरपालिकाले बेवास्ता गरेपछि सिडिओ पन्त आफै अभियानमा सक्रिय भएका हुन् ।
'किक क्याच' नाम दिइएको छाडा सुँगुर नियन्त्रण अभियानअन्तर्गत मंगलबार एक
दर्जन सुँगुर नियन्त्रण गरिएको सिडिओ पन्तले बताए । सयौँको संख्यामा
सडकमा छाडिएका सुँगुरका कारण नगर क्षेत्रमा फोहोर हुन थालेपछि सबै
पक्षलाई समेटेर नियन्त्रण अभियान सुरु गरिएको उनले बताए ।
नियन्त्रणमा लिइएको सुँगुर कोसीटप्पु वन्यजन्तु आरक्षस्थित जंगलमा छाडिने
भएको सौर्यदैनिकमा खबर छ । नगरमा छाडा सुँगुरको आतंक नहटेसम्म अभियानलाई
निरन्तरता दिइने पन्तले बताए ।
अभियानमा सिडिओ पन्त, एसपी गणेशबहादुर थापाक्षेत्री, डिएसपी गोविन्द
अधिकारी, सशस्त्रका एसपी वेचन यादव, कृष्णदल गणका गणपति रामप्रसाद
अधिकारी, नगरपालिकाका कर्मचारी र सरसफाइकर्मी तथा 'मेरो नेपाल' नामक
गैरसरकारी संस्था सहभागी थिए । छाडा सुँगुरका कारण समस्यामा परेका
नगरवासीले सिडिओको अभियानलाई समर्थन गर्दै यसलाई निरन्तरता दिनुपर्ने
बताए । राम्रो कामको सुरुआत भएको भन्दै अभियानमा सिडिओका पछाडि स्थानीयको
ठूलो लर्को लागेको थियो । सुँगुरले मन्दिरको प्रसाद र घरमा राखेको
भातसमेत नछोडेको भन्दै सुँगुर नियन्त्रण नभएसम्म अभियान जारी राख्नुपर्ने
उनीहरूको माग छ ।

No comments:

Post a Comment