Wednesday, September 12, 2012

सरकारी कर्मचारीले गरे जीवित श्रीमतीको मृत्युदर्ता

२७ भदौ, काठमाण्डौं । नेपाल सरकारका एक बहालवाला कर्मचारीले जिउँदी
श्रीमतीको मृत्युदर्ता प्रमाणपत्र बनाएको खुलासा भएको छ । आफ्ना तीन
श्रीमतीमध्ये माइलीलाई उनले जिउँदैमा मरेको प्रमाणित गरेका हुन् ।यस्तो
हर्कत गर्ने कृष्णकुमार बन्जाडे हेभी इक्विपमेन्ट डिभिजन कार्यालय
बुटवलमा लेखापाल पदमा कार्यरत छन् । उनले आफ्नो राजनीतिक पहुँच प्रयोग
गर्दै श्रीमती चन्द्रकला थापा बन्जाडेकोमृत्युदर्ता प्रमाणपत्र २०६५
सालमा बनाएका थिए । जबकि उनै चन्द्रकलाले २०६७ सालमा आएर नेपाली
नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ ।
बन्जाडेले अर्घाखाँची जिल्लाको धारापानी गाविसबाट चन्द्रकलालाई मृतक भनी
सरकारी कागजात बनाएका हुन् । बन्जाडेले दिएको निवेदनका आधारमा गाविसले
बुझ्दै नबुझी मृत्युदर्ताको प्रमाणपत्र दिएको देखिन्छ । २०६५ साल मंसिर २
गते जारी प्रमाणपत्रमा गाविस सचिव जीवनारायण चुँदालीको हस्ताक्षर छ ।
प्रमाणपत्रको दर्ता नं ७ मा पारिवारिक लगत फारम नं. ४० मा लेखिएको छ, 'यस
कार्यालयमा खडा गरिएको मृत्युदर्ता किताबअनुसार प्रमाणित गरिन्छ कि सूचक
श्री कृष्ण बन्जाडेले भरेको अनुसूची ३ को सूचना फारमबमोजिम श्री
जुद्धबहादुर थापाको नातीश्री डम्बरबहादुर थापाको छोरा कृष्ण बन्जाडेकी
श्रीमती अर्घाखाँची जिल्ला धारापानी गाविस वडा नं. ९ मा बस्ने वर्ष ३२ की
चन्द्रकला थापा बन्जाडेको मिति २०६० ।१२।०७ गते म्याग्दीमा मृत्यु भएको
हो ।'
गाविसद्वारा ०६० सालमै मृत घोषित चन्द्रकलाले ७ वर्षपछि नेपाली
नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्ला प्रशासन कार्यालय
अर्घाखाँचीबाट २०६७ चैत्र १६ गतेको मितिमा सहायक प्रमुख जिल्ला अधिकारी
भीमकान्त शर्माले नेपाली नागरिक भएको प्रमाणित गर्दै नागारिकताको
प्रमाणपत्र दिएका छन् । उनको नागरिकता प्रमाणपत्र नं. ४० (१०१९/१३८७)
रहेको सौर्य दैनिकमा खबर छ ।

No comments:

Post a Comment