Wednesday, September 19, 2012

'विद्यार्थीलाई दिइने सहुलियत षड्यन्त्रपूर्ण'

३ असोज, काठमाडौ । विपक्षी राजनीतिक दलसम्बद्ध नौ विद्यार्थी सङ्गठनले
सहमतिविपरीत सरकारले ग्यास र मट्टितेलमा दिने भनिएको सहुलियत
षड्यन्त्रपूर्ण रहेको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि
तत्काल फिर्ता लिन आग्रह गरेको छ। सरकारले गतसाता विद्यार्थीलाई
राहतस्वरूप प्रतिसिलिन्डर खरिदमा रु २५० र प्रतिलिटर मट्टितेल खरिदमा रु
१० सहुलियत दिने निर्णय गरेको थियो। सो निर्णय विद्यार्थीहरूको
आन्दोलनलाई कमजोर बनाउने उद्देश्यका साथ ल्याइएको ठहर गर्दै बैठकले
महङ्गीविरुद्ध थप सशक्त आन्दोलन थाल्ने निर्णय गरेको हो।
नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (एमाले)निकट अखिल
नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन, नेकपा-माओवादीनिकट अखिल
क्रान्तिकारीलगायतका नौ विद्यार्थी सङ्गठनको आज बसेको बैठकले
विद्यार्थीहरूको आन्दोलनलाई थामथुम पार्न गरिएको त्यस्तो निर्णय
आफूहरूलाई मान्य नहुने निर्णय गरेको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले
जानकारी दिए ।
शिक्षा नियमावलीअन्तर्गत रहेर शैक्षिक क्षेत्रमा देखिएका समस्या १५
दिनभित्रै समाधान गर्ने सरकारसँग यसअघि नै सहमति भए पनि सिटिइभिटीलगायतले
लिँदै आएको चर्को शुल्कका बारेमा तेस्रो साता वितिसक्दासमेत कुनै पहल
नगरिएकाले थप सङ्घर्षका कार्यक्रम ल्याउने निर्णय गरिएको पनि उनले बताए।
बैठकले मुलुकमा देखिएको राजनीतिक तथा संवैधानिक सङ्कट अन्त्यका लागि
प्रमुख राजनीतिक दलहरूले गम्भीर वार्ता गरी वर्तमान सङ्क्रमणकालीन
अवस्थालाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिएको छ। त्यस्तै बैठकले हालै
त्रिविविले गरेको शुल्कवृद्धिको निर्णयसमेत तत्काल खारेज गर्न माग गरेको
छ।
गत केही महिनादेखि ती विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थलगायतका
उपभोग्यवस्तुमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, शैक्षिक क्षेत्रमा
देखिएका विकृति र महङ्गो शुल्क फिर्ता गर्नुपर्ने, विदेशी नाममा सञ्चालित
कलेजको नाम परिवर्तन गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन्।
रासस

No comments:

Post a Comment