Tuesday, August 14, 2012

सुरक्षित वैदेशिक रोजगारी सचेतनामा महिला

३० साउन, कावासोती । नवलपरासी दाउन्नेदेवी-२ की वेनु खरेललाई सुरुमा गाउँका महिला कहाँ जान्छन्, के गर्छन् भन्ने कुनै चासो थिएन तर अहिले त्यसबारे चासो लिन थालेकी छिन् । त्यसमा पनि कोही महिला विदेश जाने तरखरमा छन् भन्ने थाहा पाउनेबित्तिकै भेट्न पुगी हाल्छिन् । विदेश जाँदा कुन मुलुकमा जाने हो, त्यहाँको नीतिनियम, रीतिरिवाज र संस्कृतिबारे थाहा छ छैन भनी सोध्ने र थाहा नभए बुझेर जाने सल्लाह दिने गर्छिन् खरेल ।विदेशमा कुन कामका लागि जाने हो भिसा हेरेर मात्र निर्णय लिनुपर्ने परामर्श पनि उनले दिने गरेकी छन् । विदेशबाट फर्केका महिलालाई समेत भेट्ने गरेकी खरेलले विदेशमा भोगेका दुःखसुखका कुरा बुझ्ने र त्यसबारे आफ्नो समूहमा समेत छलफल चलाउने गरेकी छन् ।
खरेलले मात्र नभई दाउन्नेदेवी-१ की मजिरुन निशाको काम पनि उस्तै छ । निशाले वैदेशिक रोजगारमा जाने महिलालाई सुझाव दिने, विदेशबाट फर्केका महिलालाई भेट्ने र अनुभव सँगाल्ने गरेकी छन् । गाविसमा सुरक्षित वैदेशिक रोजगारका लागि सामुदायिक सचेतना समूहमा आबद्ध भएपछि गाविसभरिका पन्ध्रभन्दा बढी वैदेशिक रोजगारमा जाने महिलालाई सचेत गराउने र फर्केका महिलालाई सङ्गठित पार्ने कार्यमा स्वयम्सेवकका रुपमा लागिपरेका छन् । ग्रामीण महिलाको वैदेशिक रोजगारमा जाने क्रम बढ्दै गएपछि उनीहरुलाई सुुरक्षित तरिकाले त्यसतर्फ पठाउने उद्देश्यले दाउन्नेदेवीका महिलाले सामुदायिक सचेतना समूह गठन गरी सचेत गराउने अभियान नै थालेका छन् । गाउँका सोझासिधा महिला चेतनाको अभावमा दलालको प्रलोभनमा परेर विदेश जाने, बेचबिखनमा पर्ने, यौन र शारीरिक श्रमशोषणको सिकार हुन थालेपछि यस्तो समूह बनाएर उनीहरुलाई सचेत गराइँदै आएको समूहका महिला बताउँछन् ।
गाउँघरमा रोजगारीको अवसर पनि नहुने, श्रीमान्ले दिनहुँजसो जाँडरक्सी सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने, मानसिक एवम् शारीरिक यातना दिने जस्ता कारणले गर्दा कतिपय महिलाले बाध्य भई वैदेशिक रोजगार रोजेको दाउन्नेदेवी सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना समूहकी अध्यक्ष मञ्जु पाण्डे बताउँछिन् । महिलालाई विदेश जाँदा प्रवेशाज्ञा शुल्कसमेत नलाग्ने भन्दै दलालहरु घरदैलोमा पुग्ने, फकाइफुल्याइ गर्ने गर्छन् । अधिकांशजसो घरेलु हिँसाबाट पीडित महिला, गरिब र दलित महिला दलालको प्रलोभनमा सहजै पर्ने गरेको उनको अनुभव छ ।
पिपुल्स फोरम नेपाल नामक संस्थाले गाउँमा गठन गरिदिएको सचेतना केन्द्र अहिले वैदेशिक रोजगारका लागि छलफल गर्ने थलो बनेको बताउँदै अध्यक्ष पाण्डेले जिल्लामै सबैभन्दा बढी महिला विदेश जाने गाविसमा दाउन्नेदेवी भएको जानकारी दिइन् । प्रत्येक महिना २८ गते बस्ने बैठकमा सबै वडाबाट प्रतिनिधित्व गर्ने महिलाले आआˆनो वडाका घटना र वस्तुस्थितिबारे जानकारी गराउने र केही समस्या आए छलफल गरी निकासको बाटो पहिल्याउने गरिएको अध्यक्ष पाण्डे बताउँछिन् । गएको महिना दाउन्नेदेवी-९ नेपालटोलकी २५ वर्षिय एक महिला करिब तीन वर्षकी आˆनी नानीलाई छाडेर विदेश जान लाग्दा सम्झाइबुझाइ गरी रोक्न सफल भएको उदाहरण सुनाउँदै उहाँले सचेतना केन्द्रमा यसबारे छलफल नभएको भए सायद उनी दलालको फन्दामा परी विदेश पुगेकी हुन्थिन् ।
समूह बनाएर सुरक्षित वैदेशिक रोजगारीबारे सचेतना फैलाउन थालेपछि धेरै कुरा थाहा भएको समितिका उपाध्यक्ष सीता भण्डारीले बताइन् । गाउँका कतिपय व्यक्तिले आफ्नी श्रीमतीलाई फकाई अन्य महिलालाई ल्याएर दोस्रो विवाह दर्ता गराई नागरिकता प्रमाणपत्र बनाएर विदेश पठाउने गरेको पाइएको जानकारी पनि उनेले दिइन् ।सरकारले महिलालाई सचेतना कार्यक्रमसँगै गाउँमै रोजगारको अवसर दिनुपर्ने बताउँदै उपाध्यक्ष भण्डारीले भनिन्- विदेशबाट फर्किने महिला चाँडै सम्पर्कमा आउन चाहँदैनन्, त्यसरी फर्किने महिलालाई एक त समाजले अर्कै दृष्टिले हेर्ने, त्यसमा पनि विदेशमा सुखभन्दा दुःख नै बढी पाउने भएकाले पनि सम्पर्कमा आउन नचाहेका हुनसक्छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा विदेश जानेमा बढी सङ्ख्यामा दाउन्नेदेवी गाविस रहेको गाविस सहजकर्तासमेत रहेका सचेतना समूहका सचिव भवानी शङ्कर भट्टराईले बताए । गाविसका तर्फबाट वडा वडामा गई विदेश जाने महिलापुरुषको लगत लिने र अध्यावधिक गर्दै जाने योजना बनाइएको पनि उनेले बताए ।
सुरक्षित वैदेशिक रोजगारी त्यसमा पनि महिलालाई केन्दि्रत गरी पहिलो चरणमा बन्जरिया र दाउन्नेदेवी गाविसमा सचेतना समूह गठन गरिएको पिपुल्स फोरमका जिल्ला संयोजक सम्झना चौधरीले बताइन् । सचेतना समूहको गठनपछि लुकेका थुपै्र घटना बाहिर आउन थालेका, सुरुमा विदेशबाट फर्केका महिलालाई बाहिर ल्याउन र सङ्गठित गर्न केही समस्या थियो तर अहिले विदेशबाट र्फकने महिलाकै संस्था पौरखी समूहको सदस्यता लिनेको सङ्ख्या वृद्धि हुँदै गएको उनेले बताइन् ।
पौरखी समूहमार्फत नै लक्षित महिलामा सचेतना कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढ्न सक्ने चौधरीले दाबी गरिन् । विदेश जाने महिलालाई आवश्यक सीप, तालिम तथा जाने मुलुकको नीतिनियम र रीतिरिवाजबारे जानकारी गराई अनि मात्र विदेश पठाउने योजना रहेको जानकारी पनि उनले दिइन् ।

No comments:

Post a Comment