Thursday, August 30, 2012

अपहरणकारीलाई १९ वर्ष जेल

बाँके, भाद्र १४ - पाँच वर्षीय बालक अपहरण गरी ३० लाख रुपैयाँ फिरौती माग गर्ने पाँच जनालाई जिल्ला अदालतले बुधबार जनही १९ वर्ष जेल सजाय सुनाएको छ ।
अदालतले पीडित परिवारलाई जनही पाँच हजार क्षतिपूर्ति दिलाउनसमेत आदेश दिएको छ । कोहलपुरका पाँच वर्षीय सुशान्त अधिकारीलाई रामवरण गुप्ता, जगत गुप्ता, पुरैनी-१ का मोहम्मद हुसेन शेष, बेतहनी-१ का भगवानदिन बर्मा र बर्दिया सोरहवा-१ की पुनम सुनारले ०६८ वैशाख ७ गते दिउँसो अपहरण गरेका थिए । न्यायाधीश शेखर पौडेलको इजलासले बुधबार पाँच जनालाई जेल सजाय सुनाएको हो । फैसला कार्यान्वयन भएपछि उनीहरूले ५/५ हजार क्षतिपूर्ति तिर्नुपर्ने छ ।
अपहरण तथा शरीर बन्धकमा १५ वर्ष, सामूहिक अपराधमादुई वर्ष तथा नाबालकलाई अपहरण गरेको कसुरमा थप दुई वर्ष गरी १९ वर्ष कैद सुनाएको हो । अदालतले अपराधी घोषित गरिसकेकामध्ये भगवानदिन बर्मा फरार छन् । मुख्य योजनाकार गुप्ता बालक सुशान्तका छिमेकी हुन् । गुप्ताको योजनामा सुशान्तलाई घर अगाडिबाट अपहरण गरी भारत पुर्‍याएका थिए । अपहरणपछि बुवा नारायणको मोबाइलमा फोन गरी छोरा जिउँदो फिर्ता लैजाने भए ३० लाख फिरौती दिन धम्की दिँदै आएका थिए ।
चंगा किनिदिने भन्दै सुशान्तलाई घरबाट दुई सय मिटर पर लगेर भे२प ६७३१ नम्बरको मोटरसाइकलमा राखेर भारतीय सिमानामा पुर्‍याएका हुन् । पुनम र भगवानदिनको जिम्मा लगाएर अन्य अपहरणकारी कोहलपुर फर्किएका थिए ।
भारतीय सुरक्षा अधिकारीको सहयोगमा बाँके प्रहरीका तत्कालीन प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले सुशान्तलाई तीन दिनपछि भारतको बहराइच जिल्लाअन्तर्गत पर्ने ककरदरीबाट अपहरण मुक्त गराउन सफल भएका थिए ।
अदालतको फैसलापछि अधिकारी परिवार निकै खुसी भएका छन् । बुवा नारायण र आमा पार्वती अधिकारी छोरा अपहरण मुद्दाको फैसला सुन्न अदालत परिसरमा आएका थिए । 'मेरो छोरालाई अपहरण गर्ने अपराधीले अदालतबाट ढिलै भए पनि सजाय पाएको छ,' नारायणले कान्तिपुरसँग भने, 'अदालतको उक्त फैसलाले यस्ता गम्भीर अपराध नियन्त्रणमा सहयोग पुग्ने छ ।'
छोरा अपहरणमा संलग्न भगवानदिन भने फरार भएकोप्रति उनले दुःख व्यक्त गरे । 'उसलाई पनि तत्काल पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरियोस्,' उनले आग्रह गरे । अदालतले सजाय तोकेपछि अपहरणमा संलग्न चार जनाले अधिकारी परिवारसामु रुँदै माफी मागेका थिए ।

No comments:

Post a Comment