Thursday, August 30, 2012

मनकुमारीको अपिल,'बुढेसकाल सहाराको जीवन पाउँ'

काठमाडौं, भदौ १४ (नागरिक)- युनाइटेड अरब इमिरेट्स (युएइ) मा मृत्युदण्ड कुरिरहेका पवर्तन चित्रे- ४ का दुर्गाबहादुर सुनारको जीवन रक्षाका लागि उनकी विधवा आमा मनकुमारी सुनारले अपिल गरेकी छन्। एक नेपाली नागरिककै हत्या अभियोगमा मृत्युदण्ड सुनाइएका एक्लो छोरोको जीवनरक्षाका लागि उनले आह्वान गरेकी हुन्।
यसअघि २० लाख माग्दै आएको पीडित परिवारले क्षतिपूर्ति (ब्लडमनी) स्वरूप १० लाख रुपैयाँ पाएदुर्गाबहादुरलाई माफी दिने सहमति जनाएका छन्। सुनसरी हासपोसा- २ का गणेशबहादुर बस्नेतको हत्याको अभियोगमा दुर्गाबहादुर युएईको सारजहास्थित जेलमा छन्।
'म लालपुर्जाविहीन सुकुम्वासी विधवा महिला हुँ। मेरो एकमात्र सन्तान दुर्गाबहादुर अहिले युएईकोजेलमा छ,' ६४ वर्षे मनकुमारीले अपिलमा भनेकी छन्, 'छिमेकीको गोठकटेरा नै मेरो महल हो, मेरो आफ्नो घरवास छैन। न मेरो अर्को सन्तान छ, न श्रीमान् नै हुनुहुन्छ। पीडित परिवारको जायज प्रस्ताव हुँदाहुँदै पनि त्यो दिने मेरो आर्थिक हैसियत छैन। म माथि दया गर्नुहोस्।'
दुर्गाबहादुरलाई आउँदो सेप्टेम्बरको अन्तिम साता फासी दिने फैसला गर्दै सारजहा अदालतले पीडित परिवारले केही नलिई माफी दिने, रकम लिएर माफी दिने वा मृत्युदण्ड नै दिने तीन विकल्प दिएको थियो। तीन विकल्पमध्ये दुई रकम लिएर माफी दिने र रकम निलई माफी दिनेमध्ये एक सहमति पीडित परिवारसँग गरे इस्लामिक कानुनअनुसार दोषीलाई माफी दिने प्रावधान छ।
पहिले तोकिएभन्दा केही दिन बढाई दुई परिवारबीच सहमतिका लागि अदालतले सेप्टेम्बर १० सम्मको समय थप गरेको छ। यसैअनुसार दुई परिवारबीच मंगलबार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिने कागजमा हस्ताक्षर भएको हो। दुई परिवारबीच सहमति भएपछि बोर्डले मृतक गणेशका पिता मोहनबहादुर बस्नेतका नाउँमा सिंहदरबारस्थित एभरेष्ट बैंक शाखामा बचत खाता खोली एक लाख रकम 'सिड मनी' राखिदिएको छ।
'सरकारका विभिन्न निकायमा बिलौना गर्दा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोषबाट एक लाख रुपैयाँ बिज रकम निकासा भई स्वर्गीय गणेशका पिताको नाउँमा खाता खोलिएको छ,' उनले भनिन्, 'सिंहदरबार एभरेष्ट बैंक शाखामा बचत हि. नं. ००१००५१३२०२८७५ खातामा पैसा जम्मा गरिएको छ। सेम्टेम्बर १० भित्र १० लाख रुपैयाँ खातामा पुग्यो भने मैले मेरो सहारा जोगाउने थिएँ।'
२०४७ देखि स्वयम्भूमा बस्दै आएका मृतक गणेशका मातापिता दुवै अपांग छन्। फुटपाथमा मकै पोलेर दैनिक गुजारा चलाइरहेका बस्नेत दम्पतीका पनि गणेश एक मात्र सन्तान थिए। दुवै परिवारको आर्थिक अवस्था उस्तै छ। 'छोरालाई बचाएर घरजम गराई सिस्नो कन्दमूल खाएर भए पनि कालगतिले छोराको काखमा मर्न चाहन्छु। झुलुक्क छोराको मुहार हेर्न पाएँ भने तपाईंहरुबाट दुईजनाको जीवनदान हुनेछ। म माथि दया गर्नुस्, जीवनको भिक्षा दिनुस्,' मनकुमारीले अपिल गरेकी छन्।
वैदेशिक रोजगारीको सिलसिलामा २०६० मा युएई गएका दुर्गाबहादुर, त्यसपछि नेपाल फर्केका छैनन्। सन् २००९ जनावरी १४ का दिन गणेशबहादुरको हत्या आरोपमा उनलाई सारजहा प्रहरीले पक्राउ गरेको थियो। सन् २०१० मा सारजहा अदालतले दोषी ठहर गर्दै उनलाई तीन विकल्प दिई मृत्युदण्डको सजाय सुनाएको थियो।

No comments:

Post a Comment