एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले पहिचान हराएको पार्टीमा बस्नुभन्दा नयाँ पहिचानसहितको पार्टी निर्माण अहिलेको अनिवार्य आवश्यकता भएको बताएका छन्। उनले पार्टीहरु देश र जनताका निम्ति हुनुपर्नेमा आफ्नै नेताहरुले पार्टीलाई देश र जनताका विरुद्ध प्रयोग गरेकाले त्यो पार्टीमा रहिरहनुको कुनै औचित्य नहुने बताए।
'हाम्रो पार्टी नेतृत्व देश र जनताका विरुद्ध गयो, हामी नयाँ पार्टी निर्माण गरेर आम जनतालाई एकताबद्ध गरेर जान्छौं- वैद्य पक्षको राष्ट्रिय भेलामा उनले भने। उनले माओवादीका नेताहरु असफल भइसकेकाले अब यो भेलाले नयाँ नेतृत्व खोज्ने दाबी पनि गरे।
प्रचण्ड-भट्टराईजीले पहिचानसहितको सङ्घीयताविरुद्ध सम्झौता गरिसकेका पनि उनले आरोप लगाए। ८ प्रदेश र नाम सीमाङ्कनबिनाको ११ प्रदेशमा सहमति गर्नेले अहिले सङ्घीयताका मसियाबनेको देख्दा आफूलाई अचम्म लागेको उनको कथन थियो। अहिलेका शीर्ष नेताहरुले यो मुलुकलाई हाँक्न नसक्ने ठोकुवा गर्दै वैद्यले भने- यिनीहरु सत्तालिप्सामा डुबे, कङ्ग्रेस एमाले सत्ता छोड् भन्ने, हाम्रा नेताचाहिँ सत्ता नछोड्ने भन्ने, यो सत्ता लिप्सा नभएर के हो त?
पहिले शान्ति प्रक्रियाका नाममा जनसेनालाई सिध्याउने काम माओवादीकै शीर्ष नेताहरुबाट भएकोपनि उनले बताए। 'त्यसपछि जनसेना पनि हरायो, संविधान पनि हरायो'- वैद्यको प्रष्टोक्ति थियो।
यसैबीच माओवादी उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा सुरु भएको राष्ट्रिय भेलामा नेताहरुको उपस्थित बढ्दो छ। राजधानीको बौद्धस्थित शेर्पा सेवा केन्द्रमा वैद्य पक्षीयनेताहरुको बाक्लो उपस्थित रहेको नागरिकन्युज कर्मी किरण पुन ले जानकारी दिए। भेलामा देशव्यापीरुपमा ३ हजार २ सय प्रतिनिधि उपस्थित हुने बताइएको छ। लीलामणि पोखरेलसँग माओवादीमा प्रवेश गरेका शशी शेरचन(सोनाम) समूह पनि भेलामा सहभागी भएको छ। यो समूहमा माओवादीको १० भन्दा बढी केन्द्रीय सदस्य छन्।
माओवादी कार्यकर्ता, पूर्व लडाकुहरुको बौद्ध क्षेत्रमा बाक्लो उपस्थिति छ। उद्घाटन सत्रपछिभेलाको बन्दसत्र आजै सुरु हुनसक्ने बताइएको छ। हिजो एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकिकरणका लागि आह्वान गरे पनि वैद्यपक्षले त्यसलाई लत्याउँदै आजबाट राष्ट्रिय भेला सुरु गरेको हो। भेलालाई माओवादी पार्टी विभाजनको प्रारम्भका रुपमा लिइएको छ।
No comments:
Post a Comment