Monday, June 25, 2012

प्रधानमन्त्री फर्किँदा सयौं घाइते भएको कांग्रेसको दाबी

काठमाडौं, असार ११ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउन विमानस्थल पुगेका सयौं कार्यकर्ता घाइते भएको नेपाली कांग्रेसले दाबी गरेको छ। प्रहरीको बल प्रयोगपछि उनीहरु घाइते भएका हुन्। त्यस्तै दुई दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
'शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि यो असंवैधानिक सरकारले ठाडो हस्तक्षेप गरेको छ र कानुनी राज्यको घोर उल्लंघन गरेको छ,' विज्ञप्तीमा भनिएको छ, 'यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र विरोध गर्दछ। साथै, गिरफ्तार गरिएका नेपाली कांग्रेस र यसका भातृ एवं शुभेच्छुक संस्थाका नेता एवं कार्यकर्ताहरुको तुरुन्त रिहाइका लागि नेपाली कांग्रेस माग गर्दछ र यस्ता क्रियाकलाप पुनः नदोहोर्याउन वर्तमान असंवैधानिक सरकारलाई नेपाली कांग्रेस कडा भन्दा कडा चेतावनी दिन चाहन्छ।'
विज्ञप्ति पूर्ण विवरण पढ्नुस्
देशलाई संकटग्रस्त तुल्याएर जम्बो टोली सहित असार ४ गते ब्राजिल प्रस्थान गरेका असंवैधानिक सरकारका प्रधानमन्त्री आज अपरान्ह स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाली कांग्रेस र यसका भातृ एवं शुभेच्छुक संस्थाका कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेर विरोध गरेका छन्। यसै क्रममा सुरक्षाकर्मीले लाठी प्रहार गर्दा सयौँ नेपाली कांग्रेसका कार्यकर्ताहरु घाइते भएका छन्। नेपाल किसान संघका केन्द्रीय सभापति भानुभक्त सिग्देल, केन्द्रीय सदस्यहरु- वसन्ती घिमिरे, जयबहादुर श्रेष्ठ, आदर्शविक्रम कार्की र अच्युतप्रसाद मिश्र, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रञ्जित कर्ण, केन्द्रीय सदस्यहरु- अर्जुन महतारा, अनिल खनाल, ओम गुरुङ र विरेन्द्रकुमार शर्मा, त्रिचन्द्रका स्ववियु सदस्य प्रेम जोशी, नेविसंघका कार्यकर्ता सूर्य ढकाल, किरण लामिछाने, प्रकाश खतिवडा, राजेश के.सी.(सिटिभीटी), भोला नेपाल (काभ्रे), भरतबहादुर भण्डारी, टनबहादुर लामा (काठमाडौं), तेजबहादुर रोक्का जिरे (सरस्वती क्याम्पस इकाई सचिव), डिल्ली बस्ताकोटी (गोरखा), अनिषराम भट्टराई, नेपाली कांग्रेसका सानु श्रेष्ठ (काठमाडौं), रामप्रसाद न्यौपाने (काठमाडौँ), प्रतिमा पौडेल (काठमाडौँ), नेपाल तरुण दलका केन्द्रीय सदस्य सरस्वती साह, गोमा पराजुली (सुनसरी) लाई सुरक्षाकर्मीले गिरफ्तार गरेको छ। हाल उहाँहरुलाई गौशला प्रहरी कार्यालयमा राखिएको छ।
शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि यो असंवैधानिक सरकारले ठाडो हस्तक्षेप गरेको छ र कानूनी राज्यको घोर उल्लंघन गरेको छ। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र विरोध गर्दछ। साथै, गिरफ्तार गरिएका नेपाली कांग्रेस र यसका भातृ एवं शुभेच्छुक संस्थाका नेता एवं कार्यकर्ताहरुको तुरुन्त रिहाइका लागि नेपाली कांग्रेस मांग गर्दछ र यस्ता क्रियाकलाप पुनः नदोहोर्याउन वर्तमान असंवैधानिक सरकारलाई नेपाली कांग्रेस कडा भन्दा कडा चेतावनी दिन चाहन्छ।

No comments:

Post a Comment