Friday, June 1, 2012

वैद्य पक्षको ठहर:चुनाव हुँदैन, विकल्प गोलमेच सभा

-एकीकृत माओवादी उपाध्यक्ष मोहन वैद्य विचार समूहले नयाँ संविधानसभा
चुनाव हुन नसक्ने ठहर गर्दै सर्वपक्षीय गोलमेच सभाबाट राष्ट्रिय सहमति
जुटाउन प्रस्ताव गरेको छ। वैद्य विचार समूहको बिहीबार बसेको केन्द्रीय
समिति बैठकमा त्यस्तो प्रस्ताव गरिएको हो।
बैठकमा वैद्यले फेरि संविधानसभा चुनाव भनेर जनताबीच जान नसक्ने
निष्कर्षसहित गोलमेचको प्रस्ताव ल्याएका हुन्। संस्थापन पक्षको बैठक
पेरिसडाँडामा चलिरहँदा वैद्य पक्षको कुपन्डोलमा समानान्तर बैठक बसेको हो।
'अहिलेको अवस्थामा चुनाव हुन सक्दैन। सर्वपक्षीय गोलमेच सभा, राष्ट्रिय
सहमतिको संयुक्त सरकार, अधिकारसम्पन्न पूर्ण समानुपातिकआयोगबाट संविधान
लेख्नुपर्ने राजनीतिक प्रस्ताव उपाध्यक्ष किरणले गर्नुभयो,' एक केन्द्रीय
सदस्यले भने।
बैठकले प्रस्तावमा थप छलफल गर्न असार १ मा छुट्टै राष्ट्रिय भेला गर्ने
निर्णय गरेको छ। सोही भेलाबाट नयाँ पार्टी घोषणा गर्नेबारे बैठकमा छलफल
भएको थियो।
शान्ति प्रक्रियामा आएको छवर्षे कामको मूल्याकंन, संविधानसभामा छलफल भएर
आएका केही उपलब्धिलाई टेकेर गोलमेच सभाबाट नयाँ संविधान निर्माण गर्न
सकिने प्रस्तावमा उल्लेख छ।
पार्टी नेतृत्वले लिएको शान्ति र संविधान निर्माणको कार्यनीति विफल भएको
पोलिटब्युरो सदस्य पम्फा भुुसालले बताइन्। 'पार्टीको नीति र नेतृत्व
अन्तनिर्हीत हुन्छन्। हाम्रोजस्तो क्रान्तिकारी पार्टीमा नीति र
नेतृत्वबारे छलफलनहुने कुरै भएन। असफल नेतृत्व र नीतिबारे उहाँ (संस्थापन
पक्ष) हरु कसरी आउनुहुन्छ, त्यसपछि संयुक्त बैठक बस्ने वा नबस्नेबारे
सोच्न सकिन्छ,' भुसालले भनिन्।
पेरिसडाँडामा सुरु भएको संस्थापन पक्षको बैठक पोलिटब्युरो सदस्य
नन्दकिशोर पुन सिकिस्त बिरामी भएपछि स्थगन गरिएको थियो। पुन बिरामी भएको
खबर आउनासाथ प्रधानमन्त्री बाबुराम भट्टराईसहित नेतृत्व हिँडेपछि बैठक
स्थगन गरिएको थियो।

No comments:

Post a Comment