टेकनारायण भट्टराई, पाल्पा, जेठ २४- आदिवासी जनजाति महासङ्घका महासचिव आङकाजी शेर्पाले बाहुन क्षेत्रीले भोट दिँदैनन् भन्ने चिन्ताले माओवादी पनि चुनावमा जान डराएको बताएका छन्। यो पार्टी विभाजनको सङ्घारमा रहेकाले निर्वाचनमा जाने निर्णय आत्मघाती हुने निचोडमा पुगिसकेको छ -उनले भने।
सत्तारुढ माओवादीमात्र हैन, मधेसवादी दलहरु पनि निर्वाचनमा जान अनिच्छुक देखिएका दाबी उनको थियो। उनले चुनावमा जनमत कम आउने डरले कङ्ग्रेस, एमालेले पनि निर्वाचन घोषणाको विरोध गरेका बताए।
बुधबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा उनकोभनाई थियो- 'संविधान ब्युँताउन सके ठूलो दलको शाख बच्ने माओवादीको सोचाई होला।'
नयाँ बन्ने जातीय पार्टीले तराई र मधेसको भोट चोर्ने भन्दै मधेसवादी क्षेत्रीय पार्टीहरु चिन्तामा रहेकाले चुनावमा जाने आँट नगर्ने उनले बताए। 'मधेसवादी दलहरु पनि आफैंमा फुटको शिकार बनेका छन्, उनीहरुलाई नयाँ पार्टी उदयको चिन्ता छ'- उनले भने।
शेर्पाले जातीय पहिचान नस्वीकार्ने दलको हविगत जनमोर्चाको जस्तै हुने बताए। 'चुनाव भयो भने कङ्ग्रेस-एमाले जस्ता जातीय पहिचान नस्वीकार्नेदल जनमोर्चा जस्तै ४ सिटमा सीमित हुने पक्का छ'- उनले भने। शेर्पाले आफूहरु संविधान सभा ब्युँते पनि चुनाव भए पनि फाइदामै हुने दाबीसमेत गरे। 'अबको चुनावमा जातीय पहिचान र सङ्घीयता पक्षधरले दुई तिहाई मत ल्याउने पक्का छ', उनले थपे- संविधान सभा ब्युँते पनि जनजाति सभासदले पार्टी ह्वीपको धज्जी उडाउने छन्।
उनले नयाँ पार्टी खोल्ने तयारी भएको पनि बताए। पार्टीको नाम, घोषणापत्र र साङ्गठनिक स्वरुपबारे छलफल जारी रहेको पनि उनले बताए। उनले जिल्लाहरुबाट प्रतिनिधि जुटाएर सम्मेलन गर्ने रनयाँ पार्टी गठनको घोषणा हुने जानकारी दिए।
No comments:
Post a Comment