Wednesday, May 9, 2012

बेपत्ताको खोजी गर्न ६ सय सुरक्षाफौज परिचालन

सेना, सशस्त्र र नेपाल प्रहरीको ६ सय संयुक्त सुरक्षाफौजले कास्कीको उत्तरी गाविस सार्दीखोलामा क्याप खडा गरी सेतीको बाढीमा बेपत्ता भएकाहरुको खोजी जारी राखेका छन्। उनीहरुलाई दिनदिनै सेतीको बगर र सम्भावित ठाउँहरुमा परिचालन गरिएको छ।
सेतीले बगाएर बेपत्ता बनाएका करिब चारदर्जन व्यक्तिको खोजीका लागि सार्दीखोलाको खारापानीमा क्याप खडा गरि नेपाली सेनाका २ सय १५, नेपाल प्रहरीका १ सय ९० र सशस्त्र प्रहरीका २ सय ८ सुरक्षाकर्मी बसेका छन्।
सुरक्षाफौजले खोजीका क्रममा दैनिक ४-५ वटा शव फेला पार्दै आएको छ। यस क्रममा मंगलबार थप ५ वटा शव फेला परेको सुरक्षाअधिकारीले बताएका छन्। योसहित गत शनिबार सेती नदीको बाढीले बगाएर मृत्यु हुनेको संख्या २६ पुगेको छ। बाढीमा बगेर बेपत्ता भएका अझै ४३ जनाको खोजी कार्य जारी छ।
हालसम्म प्राप्त २६ शवमध्ये १९ को सनाखत भई आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। सनाखत हुन बाँकी ७ वटा शव र केही मानव अंग पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन्। सोमबारसम्म १८ शवको सनाखत भएको थियो। मंगलबार भेटिएकामध्ये सार्दीखोला-१ की छेसाङ तामाङको मात्र सनाखत भएको छ भने अन्य चारवटा शव सनाखत हुन नसकेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए।
मंगलबार सार्दीखोला-१ कस्केरीमा एक महिलाको शव भेटिएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट सार्दीखोलाको टोली त्यहाँ पुगेको थियो। उक्त शव भुर्जुङ्गखोलाका नेत्रबहादुर तामाङकी श्रीमती छेसाङ्गको भनी सनाखत भई आफन्तलाई जिम्मा लगाइएको छ। कसेरीमै थप एक महिलाको शव फेला परेको रसनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
यस्तै भरतपोखरी गाविसको मसिनाघाटमा टाउको विहीनएक शव फेला परेको छ। सनाखत हुन नसकेको उक्त शव क्षेत्रीय अस्पतालमा राखिएको छ। मर्दि र सेतीको दोभानमा एक बालकको २ वटा हात तीन वटा गाई मृत फेला परेका छन्।
प्रहरीकाअनुसार बाढीमा परि घाइते भएर मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेकामध्ये मोहन ताम्राकार र माला ताम्राकार मंगलबार डिस्चार्ज भएका छन्। मणिपालमा अब एक घाइतेको मात्र उपचार भईरहेको छ।
प्रशासनकाअनुसार बेपत्ता नागरिकका शव दलदल हिलोमा गाडिएको आशंकामा बेपत्ताको खोजीका लागि माटो उत्खनन गर्न स्क्काभेटर, डोजर गरि चारवटा साधन प्रयोग गरिएका छन्। प्राविधिक टोलीसहितका ती उद्वार सामग्रीले क्याम्प खडा गरि बसेका सुरक्षाअधिकारीले तोकेका ठाउँमा उत्खननको काम गरिरहेको कास्की प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईले जानकारी दिए। उनकाअनुसार यो क्रम अझै केहीदिन जारी रहनेछ।
कास्कीका प्रहरी प्रमुख एसपी शैलेश थापाले बेमौसमा आएको भीषण बाढीले अहिलेसम्म के कतिलाई बगायो भन्ने यकिन गर्नै कठिनाई भएको बताए। उनले आफन्त हराएको भनी स्थानीयले प्रहरीमा टिपाएको विवरणबाहेक उक्त ठाउँमा रहेका बाहिरी जिल्लाका व्यक्तिको यकिन संख्या खुल्न नसकेको उल्लेख गरे।
'तातोपानी कुण्ड, स्थानीय बजार र बाहिरी जिल्लाका धेरै मजदुरको काम गर्ने थलो समेत रहेकाले उक्त ठाउँमा घटनाका बेला कति मानिस थिए भन्ने नै थाहा पाउन सकिएको छैन' एसपी थापाले भने,'प्रहरीमा विवरणदिनेको आधारमा मात्र बेपत्ताको संख्या भनिए पनि वास्तविकतामा त्यहाँ धेरै मानिस परेका हुन सक्छन्।'
उनले घटनाको चारदिन बित्दा पनि सेती किनारमा दलदल हिलो बाँकी रहेकाले माटो उत्खनन गर्न कठिनाई भइरहेको बताए। संयुक्त सुरक्षाफौजले सोमबार जस्तै मंगलबार पनि सेतीको बगरै-बगर बेपत्ताको खोजी गरेको छ
भेटिएका कतिपय शवको अंगभंग भएकाले सनाखत गर्न प्रहरी र आफन्तलाई अप्ठेरो परेको छ। सनाखत गर्न नसकेपछि बेपत्ताका केही आफन्तले शवका रुपमा हात, खुट्टा मात्र पनि बुझेर अन्तिम संस्कार गरेका छन्। प्रहरीले फेला पारेकामध्ये अझै केही मावनअंगहरु अझै अस्पतालमै छन्। मंगलबार पनि अन्दाजी ५-६ वर्षका बालकको दुईवटा हात फेला परेकोछ। उद्वारमा खटिने प्रहरीले शव बाहनको अभावमा आफ्नै सवारीमा भेटिएका शव बोकेर अस्पताल लैजाने गरेको छ।

No comments:

Post a Comment